काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले भने ।
ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।
अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् । पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।
रेश अग्रवाल क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए। उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका रहेको महानिर्देशक ढुंगानाले बताएका छन्।
‘क्रिप्टो र हुण्डीको कारोबार गर्थे भन्ने सूचना नै आएको हो। जुन क्षेत्रमा सुनको अवैध कारोबार भएको भनेर सूचना आउँछ त्यहाँ उनको कपडा पसल छ। अवैध सुनको कारोबारमा पनि उनको संलग्नता रहन सक्ने शंका छ,’ उनले भने।
बिहीबार पक्राउ परेका बाँकी दुई जनाको भने परिचय खुलाएको छैन। उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको महानिर्देशक ढुंगानाले जानकारी दिए।
पक्राउ परेका अग्रवालमाथि आजबाट थप अनुसन्धान अगाडि बढाइने ढुंगानाले जानकारी दिएका छन्।