काठमाडौं। चितवनको भरतपुर महानगरमा निर्माणाधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ।भरतपुरको मूख्य प्रवेशद्वार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीव्र रुपमा काम अगाडि बढेको छ।
२० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनुअघि नै धुलोमुक्त सडक निर्माण गरिसक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन्।
निर्माण कम्पनीसँग पटक–पटक छलफल गरी निर्माणलाई छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न गर्न अनुरोध गरिएको उनको भनाइ छ।
सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको अन्तिम कालोपत्रे एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ।
यस्तै, पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भइसकेको छ। महानगर कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाइन, दुई वटा कल्भर्ट र ओरालो भूभाग भएकाले काममा कठिनाइ भएको थियो ।
भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय भए पनि मुख्य सडक, मुग्लिन–नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीब्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ मा गर्ने गरी समय तोकिएको छ।
निर्माण कम्पनीका अनुसार यो सडक फागुन पहिलो सातासम्म एक तहको कालोपत्रे गरिसक्ने सहमति गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाईनल कालोपत्रे र सकेसम्म रङरोगनको काम अघि बढेको छ।
निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाइल पठाइएको उनले जानकारी दिए। फागुन पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेलको भनाइ छ।
पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुंगानाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ। वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।
यस्तै, लायन्स चोकदेखि रोटरी भवनसम्म सबग्रेड कार्य सुरु भइरहेको छ भने फागनु दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर) पहिलो चरणको कालोपत्रे भइसक्ने म्यानेजर ढुंगानाले बताए। २०७७ माघदेखि सुरु भएको ६.०८ किलोमिटर सडकको मंसिरमै सकिएको छ। निर्माण कम्पनी म्याद थप प्रक्रियामा छ।