काठमाडौं। यातायात व्यवसायी र त्यसमा मजदुर संघ–संगठनले ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका छन्। सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा छलफल गर्न मन्त्री ज्वालाले सरोकारवाला निकायलाई बिहीबार बोलाएको छलफलमा उनीहरुले उक्त माग गरेका हुन्।
विधेयकको मस्यौदामा सुझाव दिँदै व्यवसायी र मजदुर संगठनले ड्राइभिङ स्कुल माग गरेको मन्त्रालयले जनाएको छ। सवारी ऐन, २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ।
व्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा व्यवस्था गर्ने गरी काम थालेको बताए। ‘ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौं,’ मन्त्री ज्वालाले भने।
व्यवसायीले नेपालबाट दक्ष चालक विदेश पलायन हुन थालेको र दक्ष चालक अभावमा सवारी दुर्घटना बढेको व्यवसायीको भनाइ छ। सोही कारण ड्राइभिङ स्कुल वा छुट्टै संस्था आवश्यक भइसकेको सुझाव उनीहरुले दिए।
छलफलमा स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकार सहभागी थिए। यस्तै, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघ पदाधिकारको पनि सहभागिता थियो।
छलफलमा व्यवसायी र मजदुर संघ÷संगठनका पदाधिकारीले फरक–फरक सरकारले बनाउने ऐनका कारण ठूलो समस्या झेलेको बताए। संघीय, प्रदेश र स्थानीय सरकारले फरक–फरक सवारी ऐन बनाउँदा समस्या परेकाले एकरुपता हुने गरी पहल गर्न पनि मन्त्री ज्वालासँग उनीहरुले आग्रह गरे।
जवाफमा मन्त्री ज्वालाले प्रदेश सरकारका यातायात मन्त्री र सचिवसँग छलफल गर्ने गरी ७ माघमा बैठक डाकिएको जानकारी दिए। भौतिक मन्त्रालयले प्रदेश सरकारसँग यसअघि नै तीन पटक बैठक राखिसकेको छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले फरक–फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले चलेका छन्, त्यसको अभिलेखसम्म सरकारसँग नभएको बताए। अब बन्ने ऐनमा एकरुपता ल्याउन प्रदेश र सरकारका यातायातमन्त्री र सचिवसँग छलफल गर्न लागिएको सचिव शर्माको भनाइ छ।