काठमाडौं। ट्याक्सी भन्नेबित्तिकै तपाईं–हाम्रो दिमागमा कुन ब्रान्ड आउँछ?
सुजुकी ८०० वा हुन्डाई इयोन?
यी दुईमध्ये जुनसुकै छाने पनि तपाईं गलत हुनुहुन्न। केही समयअघिसम्म यी दुई ब्रान्डकै ट्याक्सीले काठमाडौं उपत्यका भरिएको थियो। अब भने ट्याक्सीमा हुन्डाई र सुजुकीको सिन्डिकेट तोडिन थालेको छ।
बागमती प्रदेश सरकारको वि.सं. २०८५ भित्र पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीतिबमोजिम पहिलो चरणमा २० वर्ष पुराना ट्याक्सी सट्टाभर्ना गर्दा विद्युतीयमै गर्नुपर्नेछ। सोहीबमोजिम हाल धमाधम पेट्रोल ट्याक्सीको सट्टाभर्न विद्युतीय ट्याक्सीमा भइरहेका छन्।
बागमती प्रदेश सरकारको वि.सं. २०८५ भित्र पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीतिबमोजिम पहिलो चरणमा २० वर्ष पुराना ट्याक्सी सट्टाभर्ना गर्दा विद्युतीयमै गर्नुपर्नेछ।
हालसम्म १३९ ट्याक्सी विद्युतीयमा सट्टा भर्ना भएको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखाले जनाएको छ। कार्यालयका अनुसार यी सबै ट्याक्सी टाटा कम्पनीका एक्सप्रेस–टी हुन्।
प्रदेश सरकारको नीतिबमोजिम विद्युतीय ट्याक्सी संख्या यत्तिमै सीमित हुने छैन। २००२/२००३ मोडलका ३ हजार ५ सय बढी ट्याक्सीको सन् २०२३ मा २० वर्ष आयु सकिसकेको हुनेछ। अब करिव ३ हजार ३ सय ६१ वटा ट्याक्सी विद्युतीयमा सट्टा भर्ना हुँदै छन्।
साढे १२ अर्बको मैदानमा एक्लै टाटा
यातायात कार्यालयका अनुसार हालसम्म १ सय ३९ वटा विद्युतीय ट्याक्सी दर्ता भएका छन्। यसमा टाटा एक्सप्रेस टीको एकछत्र राज छ। यी गाडी बेचेर टाटाले हालसम्म ५१ करोड ५३ लाखको कारोबार गरिसकेको छ।
सरकारको नीतिअनुसार अब ३ हजार ३ सय ६१ वटा ट्याक्सी विद्युतीयमा सट्टाभर्ना गर्नुपर्नेछ। यसको मूल्य प्रतिगोटा ३७ लाखका हिसाबले १२ अर्ब ४३ करोड ५७ लाख रुपैयाँ लागत पर्ने देखिन्छ।
हाल नेपालमा टाटा र सिजीले मात्र विद्युतीय ट्याक्सी उतारेका छन्। सिजी मोटर्सको निटा भीको मापदण्ड बागमती प्रदेशअनुसार नमिल्ने भएकाले १२ अर्बको विद्युतीय ट्याक्सी बजारमा टाटाको वर्चस्व हुने अनुमान गरिएको हो।
यस्तो छ ट्याक्सीको मापदण्ड
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले नयाँ आउने ट्याक्सीका लागि २ वटा मापदण्ड बनाएको छ। मन्त्रालयले ट्याक्सीलाई साधारण र विशेष प्रकृतिका गरी दुई प्रकारका स्पेसिफिकेसन बनाएको हो।
विशेष प्रकृतिका ट्याक्सीका हकमा कम्तीमा ५० किलोवाटको मोटर, कम्तीमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री, अटोमेटिक ट्रान्समिसन, ५ देखि ७ सिट क्षमता, सेडान वा भ्यान बडी टाइप, कम्तीमा २ सय ७५ किलोमिटर रेन्ज, कम्तीमा १७५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, कम्तीमा २ सय ५० लिटर बुट स्पेस, एबीएस र इबिडी, पार्किङ सेन्सर, जिपिएस सिस्टम, एसी र साउन्ड सिस्टम, हिल असिस्ट, रेयर भ्यु क्यामरा, डुअल एयर ब्याग, सेन्ट्रल लकिङ हुनुपर्नेछ।
त्यसैगरी साधारण ट्याक्सीमा २० किलोवाट वा सोभन्दा बढी क्षमताको लिथियम आयोन ब्याट्री, ३० वा सोभन्दा धेरै किलोवाटको मोटर, अटोमेटिक ट्रान्समिसन, कम्तीमा २ सय १० किलोमिटर रेन्ज, सेडान बडी टाइप कम्तीमा २ सय लिटरको बुट स्पेस भएको, कम्तीमा १७० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ५ सिट क्षमता, एबिएस, सेन्ट्रल लकिङ, जिपिएस सिस्टम, रेयर भ्यु क्यामेरा र एयरब्याग अनिवार्य हुनुपर्नेछ।