काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले स्थापनाको २४औं वार्षिकोत्सव मनाएको छ। बिहीबार काठमाडौंमा आयोजित इप्पानको २४औं वार्षिकोत्सव उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उदघाट्न गरे।
कार्यक्रममा गृहमन्त्री श्रेष्ठ अब ग्रिन डेभलपमेन्टको अवधारणा लिन सके देश विकासको बाटोमा जाने उद्घोष गरे। उनले ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए। ‘ऊर्जा उद्यमीले निर्धक्क भएर लगानी गर्दा हुन्छ। सुरक्षाको कुनै चिन्ता नलिनू,’ उनले भने ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको योगदान ६०/७० प्रतिशत रहेको बताए। पछिल्लो दशकमा ८ सय बाट २९ सय मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको उनले जानकारी दिए। मन्त्री बस्नेतले अबको ३/४ महिनामा निजी क्षेत्रबाट प्रवद्र्धित करिब ५०० मेगावाट थप विद्युत प्रणालिमा जोडिने बताए।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको धारणा व्यक्त गरे। १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको सम्झौता स्वागतयोग्य रहेको उनले बताए।
‘अहिले देश ऊर्जामय भएको छ,’ उनले भने, ‘सरकारलाई अबको दशक ऊर्जा दशक घोषणा गर्न माग गर्छु। सरकारले अबको दशकलाई ऊर्जा संकटकाल लगाउनसमेत माग गर्दछु।’ अहिले सरकारले ऊर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै अध्यक्ष कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग गरिरहेको स्मरण गराए।
‘ऊर्जा क्षेत्रको भ्याट घटाउने सवालमा अर्थ मन्त्रालयले समस्या समाधानका लागि ऊर्जा मन्त्रालयले क्याबिनेटमा प्रस्ताव लैजान सुझाएको छ,’ उनले भने, ‘ऊर्जा मन्त्रालयबाटै यो समस्या समाधान हुनेमा इपपान विश्वस्त छ।’ अध्यक्ष कार्कीले बाढीपहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न पनि आग्रह गरे।
उनले १० हजार मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी लाग्ने स्मरण गराउँदै यसमा राष्ट्र बैंकलाई समेत ध्यान दिन आग्रह गरे । कार्कीले ट्रान्समिसन लाइन नहुने हो भने बिद्युत धेरै खेर जाने र त्यो अवस्था ऊर्जा उद्यमीले सहन नसक्ने बताए।
गत आवमा २/३ सय मेगावाट विद्युत खेर गएको स्मरण गराउँदै त्यसको असरले बैकले ऊर्जा उद्यमीलाई कालोसूचीमा राख्नेसम्मको अवस्था आउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।आयोजनामा समय समयमा तोडफोड हुने, चन्दा आतंक बढेको, फोन नउठाउने हो भने घरमै आएर आतंकित बनाउने गरेको भन्दै सुरक्षामा ध्यान दिन गृहमन्त्रीलाई आग्रह गरे ।
अहिले ३६ सय मेगावाट क्षमताका पिपिए भएका आयोजनामा बैंकले लगानी नगरेकाले यसको समाधानका लागि सबै पक्षको ध्यानाकर्षण गराए।
कार्कीले अर्बौकाका आयोजना बनाउने, विद्युत निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने, देशलाई समृद्धिको बाटोमा लैजाने ऊर्जा उद्यमीलाई सिंहदरबार छिर्न समस्या भइरहेको भन्दै इप्पानको कार्ड देखाएपछि सिंहदरबार प्रवेश पाउने व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरे।
ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित
कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तित्वलाई इप्पान विशेष सम्मानले सम्मान गरिएको छ। ‘इप्पान डे’ अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, ऊर्जामन्त्री बस्नेत र इप्पान अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरे।
इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा ऊर्जा मन्त्रालयका सहसचिवद्वय नवीनराज सिंह र सन्दीपकुमार देव, विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत र नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारी रहेका छन्।
वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधानसम्पादक विकास थापालाई सम्मान गरिएको छ। त्यस्तै, १ मेगावाटभन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ माघ १० मा सम्पन्न भएको नेसनल हाइड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ।
कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। नेसनल हाइड्रोपावरका संस्थापक अध्यक्ष जीतबहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो। कार्यक्रमममा १ मेगावाटभन्दा सानो पहिलो जलविद्युत् आयोजनाका रुपमा १८३ किलोवाटको स्यांगे साना जलविद्युत् आयोजनालाई सम्मान गरिएको छ।
निजी क्षेत्रले निर्माण गरेको जलविद्युत् आयोजनामा पहिलो पटक लगानी गरेको नबिल बैंक (तत्कालीन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बिमा गर्ने पहिलो बिमा कम्पनीको रुपमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साविकको एनबी इन्स्योरेन्स) लाई पनि सम्मानित गरिएको छ।