काठमाडौं। गत कात्तिकमा बुद्ध एयरले १७औं जहाजको रुपमा एटिआर ७२ जहाज ल्यायो। उसले जहाजको संख्या अझै थप्ने घोषणा गरेको छ। यती एयरलाइन्सले माघ दोस्रो साताभित्रै दुई वटा एटिआर ७२ जहाज ल्याउदै छ। यतीसँग हाल ५ वटा एटिआर जहाज सञ्चालनमा छन्।
श्री एयरलाइन्सले यही वर्षभित्रै ६ वटा जहाज ल्याउने घोषणा गरिसकेको छ। सौर्य एयरलाइन्सले पनि यही वर्षभित्र ३ वटा एटिआर जहाज ल्याउने घोषणा गरेर प्रक्रिया अगाडि बढाएको छ।
यी सबै एयरलाइन्स सुगम क्षेत्रमा उडान गर्दै आएका कम्पनी हुन्। पछिल्लो समय ट्रंक रुट (सुगम गन्तव्य)मा जहाज थप्ने प्रतिस्पर्धा एयरलाइन्स कम्पनीबीच चलिरहँदा स्टल रुट(दुर्गम गन्तव्य)मा भने कसैले चासो देखाएको पाइँदैन। बरु भएका जहाजसमेत ग्राउन्डेड गरेर राखेका छन्।
पर्यटकलाई दुर्गम भेगमा पु¥याउन होस् वा स्थानीयको सेवामा। वायुसेवा कम्पनीले चुनौतीका बाबजुद आफ्नो सेवालाई निरन्तरता दिइरहेका छन। अहिलेसम्म दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवा कम्पनीले आफ्नो क्षमताले जति गरिरहेका छन्, त्यसमा राज्यबाट प्रोत्साहन हुन सकेको छैन। उल्टो कहिलेकाहीँ हतोत्साही बनाउने काम गरिरहेको छ।
यसरी हेर्दा सुगम क्षेत्रमा राम्रो बिजनेस भएकै कारण एयरलाइन्स कम्पनीहरुबीच जहाज थप्ने होड चलेको हुन सक्छ। हुन त, दुर्गम क्षेत्रमा उडान गर्दा जोखिम धेरै रहेकाले पनि सकेसम्म एयरलाइन्स कम्पनीले दुर्गम क्षेत्रमा उडान गर्न चाहँदैनन्। त्यसो त, आन्तरिक उडानको अग्रस्थानमा रहेको बुद्ध एयरले दुर्गम क्षेत्रमा उडान गर्ने घोषणा गरेको पनि लामो समय भइसकेको छ। तर, उसले अहिलेसम्म कार्यान्वयन गरेको छैन।
जहाज नथपिँदा दुर्गम क्षेत्रका कतिपय विमानस्थलमा उडान हुन सकिरहेको छैन। सोही कारण त्यस क्षेत्रका दुर्गम क्षेत्रका यात्रु समस्यामा परिरहेका छन्। अझ यातायात सुविधा नभएका कर्णालीका कतिपय स्थानका मानिसले जहाजका लागि महिनौं कुर्नुपर्ने अवस्था छ।
सुगम क्षेत्रमा राम्रो बिजनेस भएकै कारण एयरलाइन्स कम्पनीहरुबीच जहाज थप्ने होड चलेको हुन सक्छ। दुर्गम क्षेत्रमा उडान गर्दा जोखिम धेरै रहेकाले पनि सकेसम्म एयरलाइन्स कम्पनीले दुर्गम क्षेत्रमा उडान गर्न चाहँदैनन्। जहाज नथपिँदा दुर्गम क्षेत्रका कतिपय विमानस्थलमा उडान हुन सकिरहेको छैन। सोही कारण दुर्गम क्षेत्रका यात्रु समस्यामा परिरहेका छन्।
सुगममा जति दुर्गम क्षेत्रमा यात्रु नपाउने र भाडासमेत महँगो हुँदा यात्रु पनि जहाजभन्दा गाडीकै यात्रा गर्न रुचाउने गरेको कारणले पनि जहाज थप्न कुनै तदारुकता नदेखाएको समिट एयरका अकाउन्टेबल म्यानेजर मनोज कार्कीको भनाइ छ।
अहिले समिटसँग ४ वटा जहाज छन्। तीमध्ये एक महिनाअघिबाट २ वटा जहाज ग्राउन्डेड छन् भने २ वटाले ५० प्रतिशत क्षमतामा उडान गरिरहेको उनले बताए।
पर्यटकीय सिजनमा लुक्ला र जोमसोममा केही उडानमा यात्रु धेरै भए पनि अन्य समय न्यून रहने गरेको उनले बताए। ‘यात्रु नै नपाउने भएपछि जहाज थप्ने योजना कुनै पनि कम्पनीले बनाउन चाहँदैनन,’ वायुसेवा सञ्चालक संघका महासचिवसमेत रहेका कार्कीले भने, ‘घाटाको उडान कहिलेसम्म गर्ने?’
दुर्गम क्षेत्रमा धेरै विमानस्थल बनाए पनि त्यहाँ उड्ने जहाजले भोगेका समस्याबारे सरोकारवाला निकाय मौन रहँदा उडान सेवा थप्न कम्पनी सञ्चालक उत्साहित नभएको हुन सक्ने व्यवसायीको भनाइ छ।
दुर्गम क्षेत्रमा सबैभन्दा भरपर्दो यातायातको साधनको रुपमा एयरलाइन्सले गरिरहँदासमेत सरकारी निकाय र स्थानीयबाट समेत सहयोग नपाएको गुनासो विमान सञ्चालकको छ।
दुर्गम क्षेत्रमा उडान गर्ने जहाजलाई प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा पटक पटक हुँदा पनि हालसम्म कार्यन्वयनमा आउन नसक्दा समस्या भएको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। यतीको भगिनी संस्थाको रुपमा तारा एयर सञ्चालनमा छ।
ताराले दुर्गम क्षेत्रमा उडान गरिरहेको छ। हाल तारासँग तीन वटा जहाज छन्। तीमध्ये सबै जहाज पूर्ण रुपमा सञ्चालनमा आउन नसकिरहेका बेला नयाँ जहाज थप्ने योजना तत्कालै नभएको उनले बताए।
‘आवश्यकताका आधारमा सुगममा भन्दा दुर्गम क्षेत्रमा धेरै जहाजहसञ्चालन गर्नुपर्ने हो,’ प्रवक्ता बर्तौलाले भने, ‘भएका जहाजले खर्च उठाउनै नसक्ने स्थिति आएको छ।’
दुर्गम क्षेत्रका हवाई यातायातले चामल बोक्ने ट्रकको कामसमेत गर्दै आएका छन्। पैदल यात्रामार्फत कैयौं दिन लाग्ने समयलाई केही मिनेटमा छोट्याएर नागरिकको जीवन सहज बनाएको उनको दाबी छ।
दुर्गम भेगका उडान अनियमित हुने गरेका छन्। यसो हुनुमा हवाई इन्धन अत्यधिक महँगो हुनु, दुईतर्फी यात्रुको अभाव, छिटो–छिटो मौसम परिवर्तनका कारण गन्तव्य नपुगी फर्कनुपर्ने कारण मुख्य रहेको हवाई सञ्चालक बताउँछन्।
यसलाई सम्बोधन गर्न राज्यबाटै सहुलियतका कार्यक्रम ल्याउनुपर्ने माग उनीहरुको छ। दुर्गम क्षेत्रमा बनेका विमानस्थल पूर्ण रुपले भौतिक पूर्वाधारयुक्त नबनिसकेको हवाई सञ्चालक सुनाउँछन्। विमानस्थलमा आवश्यक नेभिगेसन उपकरण, यात्रु टर्मिनल भवन तथा तारबार नहुँदा सुरक्षा जोखिम बढेको गुनासो उनीहरुको छ।
हाल दुर्गम क्षेत्रमा समिट, तारा र तारा एयरले उडान गरिरहेका छ। हाल समिटसँग ४, तारा र सीतासँग ३÷३ वटा जहाज रहेको छ। नेपाल वायुसेवा निगमसँग रहेको दुई वटा ट्विनअटर जहाजले बेलाबेला उडान गरे पनि नियमित हुन सकेको छैन।
अहिले निगमले तीन वटा ट्विनअटर जहाज खरिदका लागि टेन्डर आब्हान गरिसकेको छ। तर, निगमसँग जहाज खरिद गर्ने स्रोत नभएको भन्दै विरोधका स्वर सुनिन थालेकाले खरिद आशंका भने यथावतै छ।