काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सहकारीमा देखिएका समस्या तत्काल समाधान गर्न सरोकारवाला मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीलाई व्यवस्थित बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सहकारी समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकारवाला मन्त्रालय र निकायलाई प्रधानमन्त्रीबाट निर्देशन दिएका छन्।
उनले सहकारी अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थालाई राम्रा, संकटमा रहेका र डुबेका सहकारीका रुपमा वर्गीकरण गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तीन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औंल्याए।
छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारी उपस्थित थिए।