काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी आवास तथा सरकारी भौतिक संरचनाको बिमा गर्ने व्यवस्थामा जान आवश्यक भइसकेकाले मन्त्रिपरिषद्मा यसबारे अध्ययन गर्ने निर्णय भएको जानकारी दिएका छन्।
मंगलबार २६औं भूकम्प सुरक्षा दिवस अवसरमा चन्द्रागिरिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विस्तारै देशैभरका निजी आवास र सरकारी संरचनाको बिमा व्यवस्थाका लागि अध्ययन गरिन लागेको बताएका हुन्।
भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको उनले औंल्याए। विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।
‘१९९० देखि हालसम्म गएका भूकम्पको स्मरण गर्दै आज पनि दिवस मनाइरहेका छौं। मूलभूत रूपमा भूकम्पको पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय संकल्प गर्ने दिन पनि हो’, उनले भने।
भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नैका लागि सबैले मिलेर काम गर्न प्रधानमन्त्रीले आह्वान गरे।
‘जाजरकोट र बझाङको भूकम्पलाई जोखिमको पूर्वसंकेतको रूपमा लिँदै ठूलो विपद् सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम गर्न स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिइने स्पष्ट पारे।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङलगायत सहभागी थिए।