बागलुङ। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थी आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र शिक्षा विकासको आधार तयार हुन सक्ने बताएका छन्।
अध्यक्ष ढकालले आफू पढेको बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको शैक्षिक संस्था भएकोसमेत उल्लेख गरे। ढकालले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्ति उत्पादन गरेको बताए। उनले विद्यालयको शैक्षिक स्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे।
विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिंगो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए।
सैद्धान्तिक रुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उनको सुझाव थियो।
अध्यक्ष ढकालले भने, ‘यो विद्यालयले मुलुकका महत्त्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ। सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ। अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ।’
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण पाठकले शिक्षा क्षेत्रको विकास नभई मुलुकको विकास नहुने भन्दै शैक्षिक उन्नयन र विकासका लागि सबैको सहयोग आवश्यक पर्नेमा जोड दिए।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताए। सोहीअनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उनको भनाइ थियो।
सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वरीप्रसाद ढकाल सम्मान गरिएको थियो। २००७ मा स्थापना भएको विद्यालयले लामो समयसम्म विभिन्न समस्याका बाबजुद पठनपाठनलाई प्रभावकारी बनाउँदै आएकामा पछिल्लो समय भौतिक संरचना र शैक्षिक गुणस्तर बढ्दै गएको प्रधानाध्यापक तिलक आचार्यले बताए।–रासस