काठमाडौं। रसुवामा निर्माणाधीन लाङटाङ–भोटेकोसी जलविद्युत् आयोजनाले २० अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ।कुल एक सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन छ।
आयोजनाका प्रवद्र्धक रहेका कांग्रेस नेता एवं सांसद दीपक खड्काका अनुसार चीनको बैंक अफ चाइनाबाट झन्डै १९ अर्ब ८५ करोड ७० लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ। आयोजनाको कुल लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार बराबर रहेको छ। आयोजनामा संस्थापक लगानीकर्ताले ५ अर्ब ९ करोड ७४ लाख ७३ हजार बराबर लगानी गरेका छन्।
नेपाल राष्ट्र बैंकको स्वीकृतिमा स्वपुँजीका रुपमा ५ अर्ब ९ करोड ७४ लाख ७३ हजार बराबर भित्रिइसकेको छ। १९ अर्ब ८५ करोड ७० लाख बराबरको रकम भने ऋणमा ल्याइएको हो। सांसद खड्काका अनुसार आयोजनाको सम्पूर्ण वित्तीय व्यवस्थापन भइसकेको छ।
सो आयोजनाका लागि विद्युत् विकास विभागले आगामी फागुन २ सम्म वित्तीय व्यवस्थापन गर्ने समयसीमा प्रदान गरेको थियो। आयोजनामा चिनियाँ कम्पनीको ९० प्रतिशत र नेपाली पक्षको १० प्रतिशत लगानी रहेको छ। आयोजनाका लागि आवश्यक रकम भित्र्याउने सम्बन्धमा प्रवद्र्धक कम्पनी लाङटाङ–भोटेकोसी जलविद्युत् आयोजना र चीनको निर्यात आयात बैंक सिचुआन शाखाबीच गत पुस २३ मा सम्झौता भएको थियो।
कांग्रेस सांसद खड्काको पहलमा अगाडि बढाइएको उक्त आयोजना चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ। २०७६ पुसमा शिलान्यास भएको उक्त आयोजना निर्माणको काम अहिले धमाधम भइरहेको छ। सांसद खड्काले देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने लक्ष्यका साथ आफूले ऊर्जा क्षेत्रमा लगानी भित्र्याएको जानकारी दिए।
रसुवाको फङ्लुङखोला र भोटेकोसीको दोभानदेखि करिब एक सय ५० मिटरमाथि भोटेकोशस नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। आयोजनामा चार हजार आठ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ। स्थानीय चिलिमेखोला र भोटेकोसीको संगम स्थलमा विद्युत्गृह निर्माण गरिने आयोजनाले जनाएको छ।
कुल एक सय ११ मेगावाट क्षमताको सो आयोजनाले वार्षिक ६ सय १३ गिगावाट घन्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ। साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गतको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पनि निर्माण भएको छ।
परियोजनाको निर्माण कार्य कोरोनालगायत काबु बाहिरको परिस्थितिका कारणले असर परे पनि हाल २० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ। विद्युत् विकास विभागले आवश्यक प्रक्रिया पूरा भएको जनाएको छ।
आयोजनाबाट उत्पादित बिजुली सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा खरिद गर्ने सम्झौता २०७४ पुस ७ मा भएको थियो। रसुवाको स्याफ्रबँेसी नजिकै आयोजनास्थल भएकाले पनि उपकरण ढुवानी, निर्माण सामग्रीको जोहो गर्न सहज भएको छ। आयोजनाबाट उत्पादित बिजुली करिब पाँच किलोमिटर लामो एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ।
नदी प्रवाहमा आधारित सो आयोजना चार वर्षभित्र निर्माण गर्ने लक्ष्यका साथ सुरु भएको हो। सरकारले स्वपुँजी २० प्रतिशतभन्दा घटी र विदेशी पुँजी ८० प्रतिशतभन्दा बढी नहुने गरी एक सय मेगावाटभन्दा ठूला आयोजनामा अमेरिकी डलरमै विद्युत् खरिदबिक्री सम्झौता गर्ने निर्देशिका ल्याएको थियो।
लाङटाङ भोटेकोसी आयोजनाका हकमा अधिकतम दस वर्षसम्म अमेरिकी डलरमा भुक्तानी गर्ने र त्यसपछि नेपाली रुपैयाँमै भुक्तानी गर्ने गरी सम्झौता भएको छ।
यसैगरी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रुपमा रहेको रसुवागढी र साञ्जेनले निर्माण गरेका तीन आयोजना अन्तिम चरणमा पुगेका छन्।
कुल एक सय ११ मेगावाट क्षमताको सो आयोजनाले वार्षिक ६ सय १३ गिगावाट घन्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ। साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गतको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना पनि निर्माण भएको छ।
यसैगरी रसुवका आमाछोदिंगो गाउँपालिका–५ मा निर्माणाधीन ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमा गत पुस ११ देखि पानी भर्ने काम सुरु भएको छ। लाङटाङ खोलामा २० मेगावाट क्षमताको लाङटाङखोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ। रसुवामा मात्रै कूल पाँच सय ८४ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन्।
त्यसमध्ये २२ मेगावाट क्षमताको चिलिमे २०७१ देखि सञ्चालनमा छ। जलविद्युत् आयोजनाका लागि केन्द्रका रूपमा स्थापित सो जिल्लामा पहिचान भएका अन्य आयोजनालाई पनि शीघ्र निर्माणको प्रक्रियामा अगाडि बढाउने सरकारको लक्ष्य छ।–रासस