काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।
महालेखाका अनुसार पुस मसान्तसम्म बजेट घाटा ४८ अर्ब ४६ करोड ५७ लाख बराबर रहेको छ। बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ।
सरकारले चालू आवका लागि सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने लक्ष्य लिएकोे छ। कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजस्व असुली भएको छ, जुन वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो।
चालू आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्म ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ। यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो।
महालेखाका अनुसार ६ महिनामा कर राजस्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ। गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख बराबर असुली भएको छ।
चालू आवका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ।
चालू आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्म ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ। यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो।
चालूगत शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत अर्थात् ४ खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ। चालू शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो।
पुँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् रु ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ।