काठमाडौं। बैंक तथा वित्तीय संस्थाले ८१ अर्ब रुपैयाँ बढी सेयर धितोमा कर्जा प्रवाह गरेको विवरण सार्वजनिक भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट चालू वर्षको मंसिर मसान्तसम्म सेयर धितो राखेर ८१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको हो।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ७६ अर्ब ५३ करोड रुपैयाँ बढी सेयर धितोमा कर्जा प्रवाह गरेका थिए। चालू आवको ५ महिनाबीचमा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ६५ करोड रुपैयाँ थप सेयर धितो कर्जा दिएको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ। यसरी औसतमा बैंक तथा वित्तीय संस्थाले झन्डै १ अर्ब सेयर कर्जा प्रवाह गरेको देखिन्छ।
अन्य क्षेत्रमा कर्जा माग नहुँदा बैंकहरूले सेयर बजारमा कर्जा लगानी बढाएको देखिन्छ। मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकहरूले मात्रै व्यवसाय विस्तारका लागि सेयर कर्जा सहयोग लिएको देखिन्छ।
तथ्यांकअनुसार वाणिज्य बैंकहरूले गत मंसिर मसान्तसम्म कुल ६३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए। यसमा सबैभन्दा बढी नबिल बैंकले मात्रै ११ अर्ब रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेको छ।
गत असार मसान्तसम्म प्रवाहित सेयर धितो कर्जामा मंसिर मसान्तमा आइपुग्दा वाणिज्य बैंकहरूले ४ अर्ब ९९ करोड रुपैयाँले थप गर्दा विकास बैंकहरूले ८ करोड ५९ लाख र वित्त कम्पनीको २५ करोड ८१ लाख रुपैयाँले घटेको छ।
गत असार मसान्तमा वाणिज्य बैंकहरूले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ, विकास बैंकहरूले १४ अर्ब १६ करोड ४९ लाख रुपैयाँ र वित्त कम्पनीले ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए। मंसिर मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकले ६३ अर्ब ६७ करोड ८२ लाख, विकास बैंकले १४ अर्ब ७ करोड ८९ लाख र वित्त कम्पनीले ३ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
वाणिज्य बैंकहरूको सेयर कर्जा
राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार वाणिज्य बैंकहरूले गत मंसिर मसान्तसम्म कुल ६३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए। यसमा सबैभन्दा बढी नबिल बैंकले मात्रै ११ अर्ब रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेको छ।
बैंकले ५ महिनाको बीचमा १ अर्ब रुपैयाँ बढीले थप सेयर धितो कर्जा प्रवाह गरेको हो। नबिलपछि धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमईले ६ अर्ब ३६ करोड, एनएमबीले ४ अर्ब ६० करोड, सिद्धार्थले ४ अर्ब ४५ करोड, एनआइसी एसियाले ४ अर्ब २६ करोड र नेपाल बैंकले ४ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।
बाँकी अन्य बैंकमध्ये ६ वटाले २ अर्बमाथि ४ अर्बसम्म, ४ वटाले १ अर्बमाथि ३ अर्बसम्म र २ वटाले १ अर्ब रुपैयाँभन्दा कम सेयर धितो कर्जा प्रवाह गरेका छन्।
गत असार मसान्तसम्म प्रवाहित सेयर धितो कर्जामा मंसिर मसान्तमा आइपुग्दा वाणिज्य बैंकहरूले ४ अर्ब ९९ करोड रुपैयाँले थप गर्दा विकास बैंकहरूले ८ करोड ५९ लाख र वित्त कम्पनीको २५ करोड ८१ लाख रुपैयाँले घटेको छ।
गत असार मसान्तयता मंसिर मसान्तसम्म ११ वटा वाणिज्य बैंकहरूको ३ करोडदेखि साढे ३ अर्बसम्म सेयर धितो कर्जा थप प्रवाह गर्दा ९ वटाले ६० हजारदेखि ७६ करोड २५ लाख रुपैयाँसम्मले थप गरेका छन्।
मंसिरसम्मको तथ्यांक हेर्दा कर्जा विस्तारका लागि सेयर कर्जाको सहयोग लिनेमा अग्र स्थानमा एनएमबी बैंक रहेको छ। बैंकले ५ महिनाको बीचमा ३ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ थप सेयर धितो कर्जा प्रवाह गरेको छ। बैंकले गत असार मसान्तमा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकामा ४ अर्ब ६० करोड ५५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ।
यस्तै, प्रभु बैंकले समेत १ अर्ब ३ करोड ३९ लाख रुपैयाँ बढी थप सेयर धितो कर्जा प्रवाह गरेको छ। बैंकले गत असारमा ३ अर्ब २१ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा मंसिर मसान्तसम्म आइपुग्दा ४ अर्ब २५ करोड सेयर धितो कर्जा प्रवाह गरेको हो।बाँकी ७ वटा वाणिज्य बैंकले ६० हजारदेखि ५१ करोड रुपैयाँसम्म थप सेयर धितो कर्जा प्रवाह गरेका छन्।