काठमाडौं। सरकारी स्वामित्वको नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशकका लागि हालसम्म १४ जनाले आवेदन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ मा सूचना जारी गर्दै दरखास्त मागेको थियो।
आइतबारसम्म विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ। पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी दिलीपशेखर श्रेष्ठ, चण्डिकाप्रसाद भट्ट, वसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा, शत्रुघ्नप्रसाद पुडासैनीले आवेदन दिएको मन्त्रालयले जनाएको छ।
यस्तै, कमलेन्द्रलाल कर्ण, उत्तरकुमार रेग्मी, डा. डोलप्रसाद चापागार्ईं, सहदेव चन्द, रामदेव यादव र सञ्जीवकुमार श्रेष्ठले आवेदन दिएका छन्।
निगममा २०७५ देखि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको हो। निवेदकमध्येबाट मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव नेतृत्वमा बस्ने छनोट समितिले कार्यकारी निर्देशक चयन गर्नेछ।
निवेदकको अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिममा तीन जनाको नाम सर्टलिस्टमा पारिनेछ। तीमध्ये छानिने एक जनाको नाम मन्त्रिपरिषद्मा पेस गरिनेछ भने कार्यकारी निर्देशक नियुक्त गरिनेछ।
निगमले वार्षिक झन्डै ३ खर्ब रुपैयाँको पेट्रोलियम कारोबार गर्दै आएको तथ्यांक छ।