पोखरा। समयले ३६५ दिनको फेरो काटिसक्यो। तर, आलै छ आफन्त गुमाउनुको पीडा। विशेष परिकार तयार गरेर आफन्तसँगै खाना खाने पखाईमा बसिरहेकाले विमान दुर्घटनाका कारण सुन्दर पल सदाका लागि गुमाए। सुन्दर सपनाको योजना बुनिरहेका ७२ जनाको सपना र आफन्तको खुसी एकाएक कालो मुस्लोमा परिणत भएर अकासमा विलीन भयो। कहालीलाग्दो आजकै दिन माघे संक्रान्ति अर्थात् १ माघ २०७९ थियो।
काठमाडौंबाट पोखराका लागि माघ १ मा बिहान १०ः३२ मा उडेको यती एयरको ९एन–एएनसी एटीआर–७२ विमान १०ः५७ मा नयाँगाउँस्थित सेती नदीको खोंचमा खस्दा चालक दलका ४ सदस्यसहित ७२ जनाको ज्यान गएको थियो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पनि सोही दुर्घटनामा ज्यान गुमाएका थिए। पौडेलको निधनपछि उनीकी पत्नि प्रतिभा अधिकारीले अझै आफूलाई सम्हाल्न सकेकी छैनन्। हरेक दिन सामाजिक सञ्जालमा श्रीमान्का साथ बिताएका तस्बिर साझा गर्दै आफूलाई भुलाउने प्रयास गरेकी छन्।
पाँचौ वैवाहिक वर्षगाँठ भव्य रुपमा मनाउने तयारी गरीरहँदा साताअघि नै श्रीमान् गुमाएको त्यो क्षण २८ वर्षीय प्रतिभालाई स्वीकार्न निकै गाह्रो भएको छ। उनी भन्छिन्, ‘हरेक समय उनी मलाई सरप्राइज दिनुहुन्थ्यो। अझै पनि ढोकामा आएर बूढी भन्छिन् कि भन्ने मात्र हुन्छ। आज घर आउन पाउँदिनँ भन्ने टुप्लुक्क आउने। आज अबेर हुन्छ भन्ने तर सबेरै घर आउने। पटक–पटक उहाँले दिएको सरप्राइजले मलाई आइपो हाल्नुहुन्छ कि भन्ने भान मात्र हुन्छ’, आफूलाई पीडा हुँदा श्रीमान्को आँखामा आँसु टल्पलाएको देख्ने प्रतिभा अहिले हरेक पल उसको यादमा बस्दा पनि किन नआएको होला भनेर प्रश्न गर्नुहुन्छ।’
आफूसँग एक पल छुट्टिन नसक्ने मान्छे यतिका लामो समय कसरी टाढा बस्न सकेको होला भनेर स्मृतिमा आइरहने उनी सुनाउँछिन्। ‘उहाँलाई यही कुराले सताइरहन्छ। सपनामा आए पनि दिल खोलेर कुरा गर्थें। खै किन हो? यति बोलाउँदा पनि आउनुहुन्न। एक–दुईचोटि आउनुभएको थियो तर बोल्दै नबोली हराइहाल्नुभयो।’
आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठ बुँदे सुझावसमेत दिएको छ। उडान समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिबिलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ।
प्रतिभाको बोल्दाबोल्दै गला अवरुद्ध भयो। आफुलाई पूर्ववत् अवस्थामा ल्याउने प्रयास गर्दै उनले आफ्नो हरेक अवस्थाको ख्याल गर्ने र कुनै दिन पनि रिसाएर बोलेको याद नभएकाले आफूलाई आफ्नो श्रीमान् भगवान् लाग्ने बताइन्। ‘सबैले भगवान् पुज्छन्। मलाई मेरो त्रिभुवनै भगवान् हो। उहाँलाई नै भगवान मानेर पुज्छु। मेरो मन–मस्तिस्कबाट कसैले उहाँलाई चुँडेर लग्न सक्दैन।’
प्रतिभालाई अर्को एउटा कुराले पनि सोचमग्न बनाइदिएको छ। त्यो दिन त्रिभुवनले साइत हेरेर काठमाडौंं जानुभएको स्मरण गरिन्। ‘मलाई याद भएसमम कहीँकतै जाँदा साइत हेरेर गएको थाहा छैन। तर, त्यो दिन साइत हेर्नुभएको थियो। त्यो मृत्युको साइत पो रहेछ।’
छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दै छन्। अटिज्मको समस्या भएका छोराको नियमित उपचारले सुधार आइरहेको छ। भविष्यबारे अहिले केही सोच्न नसके पनि छोरा इभानबाट त्रिभुवनको बाँकी सपना पूरा गर्ने अठोट उनको छ। ‘म भविष्यबारे अहिले केही भन्न सक्ने अवस्थामा छैन। म अहिले त्रिभुवनसँगका विताएका प्रेम र स्पर्शका सुमधुर यादमा छु।’
मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रतिवेदनले प्रतिभालाई झन् विक्षिप्त बनाएको छ। ‘कतिसम्म लापर्वाही ७२ जना यात्रु बोकेको जहाज सिकारु पाइलटको हातमा सुम्पिने हो?’, अधिकारी भन्निछन्, ‘एउटा परिवारको सदस्यको अकस्मात निधनले त्यो परिवारलाई कति चोट पुग्छ कसैले अनुमान गर्न सक्छ?’
यो एक वर्षमा सरकार, एयरलाइन्सलगायत जिम्मेवार निकाय कोही कसैका प्रतिनिधि आएर आफुहरुको अवस्थाबारे सोधखोज नगरेकमा उनको चित्त दुःखेको छ। ‘नपर्नेलाई केही नहोला तर जसलाई परेको छ, उसको संसार अन्धकार भएको छ। अब यस्ता दुर्घटना यो नै अन्तिम होस्, एउटाको लापर्वाहीले धैरैको ज्यान जाने अवस्था नआओस्।’
प्रतिभाजस्तै पीडाले विक्षिप्त छन्, पत्रकार अनिल शाहीकी ३६ वर्षीया पत्नी रेनु गुरुङ। हरेक परिस्थितिमा साथ दिने वाचासहित प्रेमिल जोडीले १५ वर्षअघि वैवाहिक सम्बन्ध गाँसेको थियो। अहिले एउटा पखेटा गुमेपछि उजाड छ, रेनुको संसार। रेनु भन्छिन्, ‘यो छोटो समयमा यसरी एक्लै बनाएर जानुहुन्छ भन्ने लागेकै थिएन। धेरै साझा सपना थिए तर सिसाझैं फुटे।’
यो अन्धकारमय समयमा रुमल्एि पनि उनले दुई छोरा, सासूससुराको जिम्मेवारी वहन गरिरहेकी छन्। अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा जुटेका थिए। दुई साताअघि मात्र नेपाल आएका शाही लगत्तै कामविशेषले केरला पुगेका थिए।
त्यहाँबाट फर्किएर काठमाडौं हुँदै पोखरा फर्कने क्रममा शाही दुर्घटनामा परे। एयरपोर्ट पुगेको र केही बेरमा उडान हुने जानकारी गराएपछि रेनुले खाना बनाएर बाटो कुरेर बसेकी थिइन्। ‘उहाँसँग कुरा भएपछि परिवारसँगै खाना खाने भनेर कुरिबसेका थियौं। जहाज दुर्घटनाको खबरसँगै त्यो सुन्दर पल सदाका लागि गुम्यो।’
यो दिनले पोखराका मदनकाजी श्रेष्ठको पारिवारिक संसारलाई पनि अँध्यारो बनाइदियो। सुन्दर जिन्दगीको सपना बोकेर विरामीको सेवामा समर्पित छोरा बुहारीसँगै १० महिनाको नाति अकल्पनीय घटनाबाट अस्ताए। मदनकाजीका कान्छा छोरा डा. सुशील श्रेष्ठ, बुहारी डा. सोना दिवाकर श्रेष्ठ र नाति शर्भिन श्रेष्ठ दुर्घटना परेका थिए।
‘बाबा हामी एयरपोर्ट आइपुग्यौं। अब छिट्टै पोखरा आइपुग्छु’ भनेर छोराले फोनमा भनेपछि मदनकाजी आफ्नी छोरीका साथ छोराबुहारी र नाति लिन एयरपोर्ट गएका थिए। निर्धारित समय कटिसक्दा पनि जहाज ल्यान्ड नगरेपछि उनले अकासमै केही समस्या भएर होला भन्दै प्रियजनको प्रतीक्षामा बसिरहेका थिए। केही बेरमै एक्कासि जहाज सेती खोंचमा खस्यो भन्ने समाचार सुनेपछि उनको होस उड्यो।
उनलाई थप पीडा त झन् त्यतिबेला भयो जब सरकारले प्रारम्भिक रिपोर्ट दिन पनि ढिला ग¥यो। अन्तिम प्रतिवेदन पनि ९ महिनामा बुझायो। मानवीय त्रुटि भनेर सरकारले बुझाएको प्रतिवेदनले उनलाई निकै मन पोलेको छ।
यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले अन्तिम प्रतिवेदन पुस १२ मा सरकारलाई बुझाएको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको थियो।
७२ यात्रु सवार जहाज सिकारु पाइलटको हातमा सुम्पिनु निकै ठूलो लापर्वाही भएको उनको ठम्याइ छ। उनले यो घटनामा नागरिक उडड्यन प्राधिकरण, यती एयरलाइन्स र जिम्मेवार निकायविरुद्ध मुद्दा हाल्ने तयारी गरेको बताए। ‘मैले अहिलेसम्म इस्योरेन्स दाबी गरेको छैन। मुद्दा हाल्ने तयारी गरेको छु। केही विदेशी पनि हुनुहुन्छ, प्रक्रिया अगाडि बढेको छ’, उनले थपे, ‘घटना घट्छ सेलाउँछ, जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ। म यसविरुद्ध आवाज उठाउँछु।’
उनले जिम्मेवार निकायले समवेदना पनि व्यक्त नगरेको बताए। ‘यति ठूलो दुर्घटनामा न प्राधिकरण तर्फबाट दुःख मनाउ गरियो, न त एयरलाइन्सले हामीबाट गल्ती भयो भनेर पीडित परिवारलाई समवेदनासम्म पठाउन सक्यो,’ श्रेष्ठले भने, ‘हामीले त सबथोक गुमायौं। आफैंलाई परेको चोट अहिले पनि छ। यसलाई न शब्दमा व्यक्त गर्न सक्छांै न त भतभती पोलेको पीडालाई सबैसामु देखाउन सक्छौं।’
यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले अन्तिम प्रतिवेदन पुस १२ मा सरकारलाई बुझाएको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको थियो।
प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घनाग्रस्त हुन पुगेको उल्लेख छ।
आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठ बुँदे सुझावसमेत दिएको छ। उडान समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिबिलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ।
त्यसैगरी जहाज दुर्घटनाको अर्को कारणमा नयाँ विमानस्थल पूर्ण तयारी नभइकन सञ्चालनमा ल्याइनुलाई पनि जोडिएको छ। जहाज ६ हजार ५ सय फिटमाथिबाट एकैपटक ७ सय २१ फिटमा झरेर फेरि माथि उठाउन खोज्दा इञ्जिनको गति स्थिर हुन पुगेपछि तल झर्न पुगेको प्रतिवेदनमा उल्लेख छ।
पोखरामा गत वर्ष विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा हवाई विज्ञ तथा नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मत सम्भार शाखा इन्जिनियर एकराजजंग थापा र आयोगको सदस्यसचिवमा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।