काठमाडौं। नेपाल टेलिकमले अत्याधुनिक प्रविधि प्रयोग गरेर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नमुना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ।
कम्पनीले आइतबार विभिन्न १९ जिल्लामा एकैसाथ कार्यान्वयन इकाइ स्थापना गरेको हो। इकाइले नमुना घोषणा गरिएका जिल्लामा दूरसञ्चार सेवाको विकासमा सहजीकरण गर्ने बताइएको छ।
टेलिकमले पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहत, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत र जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पालाई नमूना जिल्ला घोषणा गरी सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने जनाएको छ।
नमुना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधि तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएसम्म नविन प्रविधि र नेटवर्क पूर्वाधारको पहुँच विस्तार गरिने टेलिकमको भनाइ छ। ती जिल्लाका अधिकांश मानवबस्तीमा गुणस्तरीय मोबाइलका साथै इन्टरनेट (एनटी फाइबर) सेवा उपलब्ध गराइनेछ।
कम्पनीले यसअघि नै यी जिल्लामा नमुना दूरसञ्चार सेवा विकास गर्ने जनाएको थियो। यद्यपि, त्यसको सुरुआत भने आइतबारबाट भएको कम्पनीले जानकारी दिएको छ।