काठमाडौं। आज नेपालीहरुले मनाउने माघे संक्रान्ति अर्थात् घ्यु, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र मासको दाल, चामल हालेर पकाइने खिचडी खाने दिन। तरुल, सखरखण्ड पिंडालु र नभए आलु पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन बिहान सूर्य नउदाउँदै नुवाइ–धुवाइ गरी परिकार खाने चलन मुलुकभर छ।
त्यसो त पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने भएकाले यो पर्वलाई ‘पुसको पाक्य र माघको खाक्य’ भन्ने उखानले सुशोभित गरेको छ। पश्चिम नेपालका थारुहरुको माघी पर्व भएकाले यस दिनको विशेष महत्व छ। माघे संक्रान्तिकै अवसरमा देशैभरका विभन्न ठाउँहरुमा विभिन्न मेला, महोत्सवहरु पनि हुने गर्दछ।
झट्ट हेर्दा एक दिने पर्व जस्तो लागेपनि यसलेव्यवसायिक क्षेत्रमा भने निकै ठुलो महत्व राख्दछ। सामान्यतया एक दिनको लागि भनेर उत्पादन र खपत हुने खाद्य पदार्थ पनि अर्वौंको कारोबार हुन्छ भन्दा अनौठो लाग्न सक्छ । हो, त्यही एक दिन माघे संक्रान्तिमा प्रयोग गरिने घिउ, चाकु, तरुल, सखरखण्ड, तिल र भुजाको लड्डुको अर्वौं रुपैयाँबराबरको कारोबार हुने गरेको छ।
व्यवसायीहरुका अनुसार यो पर्वमा घ्यू, चाकु, तरुल, पिंडालु लगायतका खाद्य पदार्थ नै १ अर्ब भन्दा बढीको खपत हुने गरेको छ। मुलुकका अधिकांस क्षेत्रमा उत्पादन हुने यी बस्तुहरु कतिपय त बजारसम्म पनि पुग्दैन।
बजारमा पुगेका बस्तुको कारोबारको आंकलन गर्न सकिएपनि गाउँघरमै उत्पादित र प्रयोग भएका बस्तुको आंकलन गर्न कठिन हुन्छ। शहरदेखी गाउँसम्म र आलिशान महलदेखी कोठामा बस्ने व्यक्तिहरुले बसेकै ठाउँमा खुसीसाथ मनाउने पर्वका रुपमा परिचित माघे संक्रान्तिले सुस्ताउँदो अर्थतन्त्रलाई चलायमान बनाउन धेरथोर सहयोग गर्ने गरेको व्यवसायीहरु बताउँछन्।
माघे संक्रान्ति व्यापारिक हिसावले निकै महत्वपुर्ण हुने नेपाल खुद्रा व्यापार महासंघका अध्यक्ष पवित्र बज्राचार्य बताउँछन्। ‘नेवार समुदायमा महत्वपुर्ण मानिएको माघे संक्रान्ति पछिल्लो समय देशैभर मनाउने गरिएको पाइन्छ। माघे सक्रान्ति एक दिने पर्वमा पनि सखर, घ्यू, तरुल, सखरखण्ड, पिंडालुलगायतको ब्यापार निकै राम्रो हुन्छ,’ बज्राचार्यले भने, ‘एक दिनको व्यापरले पनि बजारलाई चलायमान बनाउन सहयोग गर्छ।’
माघे संक्रान्तिमा प्रयोग हुने घरेलु सामग्रीले व्यापारीलाई मात्र फाईदा नभई नेपाली उत्पादक र किसानलाई पनि फाइदा पुगेको बज्राचार्यको भनाई छ। कालिमाटी तरकारी बजारमा माघे संक्रान्ति लक्षित गरि पुसमा मात्रै १ हजार ३ सय ४५ टन तरुल, १ सय १७ टन पिंडालु र २ सय ७६ टन सखरखण्ड आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन्।
‘अहिले काठमाडौंका विभिन्न तरकारी बजारमा सिधै तरकारी जान्छ। माघे संक्रान्तिको लागि कालीमाटीमा मात्रै करिव २०÷२१ करोडको कारोवार हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तरुलको औसत मूल्य प्रतिकिलो ६० देखि ७० रुपैयाँ भएपनि बजारमा भने २ सय ५० रुपैयाँसम्म पर्छ।’
अफ्रिका महादेशमा प्रमुख खाद्यान्नका रुपमा प्रयोग हुने तरुलमा मानव शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरु (म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि) पाइन्छ । माघ १ गते खाइने खाद्यवस्तुले शरीरमा न्यानो दिने भएकाले गर्मी सुरु भएको जनविश्वास छ। त्यस्तै, संक्रान्तिमै प्रयोग हुने सखरखण्ड भिटामिन ‘ए’ र ऊर्जाको राम्रो स्रोत हो।
व्यवसायीहरु तरुलको प्रकारअनुसार मूल्य पनि फरक फरक हुने बताउँछन्। हाल बजारमा घर, बन, पानी, आकाशे, पातले, सेतो, रातो, हात्तिपाइले लगायतका तरुल पाइन्छ। तरुल र चाकुको मूख्य सिजन वा पर्व जे भने पनि माघेसंक्रान्ति नै हो।
नेपालमा खपत हुने अधिकांश तरुल (करीव ९३ प्रतिशत) नेपालकै उत्पादन भएको बताउँदै श्रेष्ठ भन्छन्, ‘नेपालको सबैजसो भुभागमा पर्याप्त तरुल उत्पादन हुन्छ। व्यापारीको चिनजानका आधारमा यदाकदा भारतबाट थोरै मात्र आयात हुन्छ।’
तरुल, सखरखण्ड, पिंडालु सगै माघे संक्रान्तिका दिन चाकु, तिल, बदाम र भुजाको लड्डु, खुदोलगायत पनि खपत हुन्छ। चाकु उत्पादनका लागि काठमाडौंको टोखा चर्चित छ। टोखामा १ सय २० वर्ष भन्दा पहिलेदेखि चाकु उत्पादन हुंदै आएको अनुमान छ। हाल टोखामा करिव १५ वटा चाकु उद्योग रहेको टोखा परम्परागत चाकु संरक्षण समितिका उपाध्यक्ष बुद्ध श्रेठ बताउँछन्। ‘यो क्षेत्रमा बाह्रै महिना चाकु उत्पादन हुन्छ।
माघे संक्रान्तिका लागि भने भ्याईनभ्याई हुन्छ। यो दिन चाकु मात्र नभई बदामको लड्डु, तिलको लड्डु, भुजाको लड्डु लगायतको माग हुन्छ,’ उपाध्यक्ष श्रेठले भने, ‘माघे संक्रान्तिका लागि टोखामा करिव ५ लाख किलो सखरको चाकु र लड्डुहरु बन्छ भने करिव ३ करोड रुपैयाँको सखर लगायतका खाद्य बस्तु विक्री हुन्छ।’
टोखाको चाकु उद्योगहरुले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा १० हजार मानिसहरुलाई पालेको अनुमान छ। बजारमा चाकु प्रतिकिलो २ सय रुपैयाँभन्दा बढी पर्छ। माघे संक्रान्तिमा खाइने तिलको लड्डु र तरुल बजारमा माघ महिनाभरि नै पाइन्छ।