काठमाडौं। चालू आर्थिक वर्षको पुस सकिन केही घण्टा मात्रै बाँकी छ। बैंकहरु आइतबार रातीसम्म पनि ऋणको सावाँ तथा व्याज भुक्तानीका लागि ग्राहकहरुलाई दबाब दिइरहेकै छन्। गत वर्षदेखि सुस्त मन्दीमा रहेको अर्थतन्त्र चालू वर्ष झनै गहिरिएको छ र त्यसको असर बैंकिङ क्षेत्रमा पनि देखिइरहेको छ।
बैंक तथा वित्तीय संस्थाहरुले खराव कर्जा असुली (रिकोभरी) को चुनौती चिर्दै पहिलो त्रैमासकोभन्दा खराब कर्जा बढ्न नदिने नीति अवलम्बन गरेका छन्। बैंकरहरुले सेयर बजारमा देखिएको सकारात्मक वृद्धि प्रभावलाई आफ्नो मुठ्ठिमा लिएर र नियामक नेपाल राष्ट्र बैंकको दिएको सहुलियत सदुपयोग गरेर खराव कर्जा अनुपात (एनपिएल) व्यवस्थापनमा जुटिरहेका छन्।
राष्ट्र बैंकले चैतसम्म कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सुविधा दिएको छ। जसले गर्दा पुसमा वास्तविक खराब कर्जाको अंक बैंकहरुले वित्तीय विवरणमा देखाउने छैनन्। अर्कोतिर पछिल्लो त्रैमासमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि करिव ३ सय अंकले वृद्धि हुँदा सेयर बिक्रीबाट उठाएको केही पैसा पनि ऋणको सावाँ र व्याज तिर्न प्रयोग भएको अनुमान छ।
ब्याज तिर्न नसक्ने ऋणीलाई राष्ट्र बैंकको सहुलियत
राष्ट्र बैंकले यही पुस पहिलो साता परिपत्र जारी गर्दै समस्यामा परेको ऋणीहरुले बक्यौता रहेको ब्याजको १० प्रतिशत भुक्तानी गरी कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको थियो। गत असार मसान्तसम्म नियमित रहेको कर्जालाई चैत मसान्तसम्मको लागि पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने सहुलियत राष्ट्र बैंकले गरेको हो।
राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा, कृषि तथा वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन उद्योग, गैरखाद्य वस्तु उत्पादनहरु, धातु, मेसिनरी तथा विद्युतीय औजार तथा जडान, यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवं स्वास्थ्य, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जालाई पुनर्संरचना र पुनर्तालिकीकरण गर्न बैंकहरुलाई छुट दिएको छ। २०८० असार यता नियमित नभएका तोकिएका क्षेत्रका सबै कर्जा र अन्य क्षेत्रका ५ करोडसम्मका कर्जामा २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्नेमा पुनर्तालिकीकरण र पुनसंर्रचना गर्दा ५ प्रतिशत मात्रै प्राभिजन गर्ने व्यवस्थाका कारण बैंकहरुले फाइदा उठाउने छन्।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसीले पछिल्लो समय अर्थतन्त्रमा देखिन थालेको सुधारको सकारात्मक असर बैंकको रिकोभरीमा परेको बताए।
‘सेयर बजारमा वृद्धि, अर्थतन्त्रमा बढेको धेरथोर मागले पुसमा जुन तहको एनपिएल बढ्छ भन्ने आँकलन थियो, त्यो भएन। यसको अर्थ, अब एनपिएल बढोत्तरीमा ब्रेक लाग्न सक्छ,’ केसीले भने।
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोसन न्यौपाने पहिलो त्रैमासको तहमा एनपिएल व्यवस्थापन हुनेमा आफू विस्वस्त नहरेको बताउँछन्। ‘एनपिएल व्यवस्थापन आशंकाकै स्थितिमा छ। एनआइसी एशियाको एनपिएल दोस्रो त्रैमासमा घट्ने सम्भावना कम छ। अहिलेसम्म करिब ९५ प्रतिशत रिकोभरी गरेका छौ,’ सिइओ न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था र बैंक ऋणको अवस्था हेर्दा दोस्रो त्रैमासमा समग्र बैंकिङ क्षेत्रको एनपिएल केही बढ्न सक्छ।’
नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली पनि पुसको रिकोभरी चुनौतीपुर्ण रहेको स्वीकार्छन्। ‘पछिल्लो समय बैंकमा तरलता थुप्रिएको छ तर, बजार र व्यक्तिसँग पैसा छैन, राष्ट्र बैंकले दिएको सहुलियतको प्रयोग गर्ने बैंकहरुको एनपिएल अहिले केही व्यवस्थापन होला,’ ज्ञवालीले क्यापिटल नेपालसँग भने, ‘तर, यो वास्तविक एनपिएल घटेको नभएर केही समयको लागि पछि धकेलिएको वा व्यवस्थापन गरिएको मात्र हो।’ सरकार आफूले काम लगाएको पैसा समेत ठेकेदारलाई नतिरेको भन्दै ज्ञवालीले भने, ‘ठेकेदारले पैसा नपाउँदा आपूर्ति प्रणालीसहित वहुपक्षीय रुपमा परेको बैंकसम्म आइपुगेको बताए। ‘बैंकको साँवा ब्याज तिर्न अहिले ऋणीसँग पर्याप्त पैसा नभएकाले दोस्रो त्रैमासमा एनपिएल केही व्यवस्थापन भए त्यो राष्ट्र बैंकको सहुलियत सदुपयोगकै योगदान हुनेछ।’
ऋण असुलीको समस्या वाणिज्य बैंकमा मात्रै नभएर विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरुमा उस्तै छ। महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गत वर्ष पुसको भन्दा यो वर्ष पुसमा विकास बैंकहरुको एनपिएल बढ्ने बताए। माघ १ गतेदेखि महालक्ष्मी छोड्ने तरखरमा रहेका देवकोटाका अनुसार राष्ट्र बैंकले दिएको सहुलियतका कारण विकास बैंकहरुको औषत एनपिएलमा अस्वाभाविक वृद्धि भने देखिने छैन।
उता, नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्थाका सिइओ बसन्त लम्साल पनि लघुवित्त संस्थाहरुले पुसमा करिव ६५ प्रतिशत मात्रै रिकोभरी हुने विश्वास राख्छन्। राष्ट्र बैंकले दिएको सहुलियतको समयसीमाका कारण अहिले नै धेरै एनपिएल नदेखिने लम्सालको भनाइ छ।
बैंकको वित्तीय अवस्था सुध्रिने राष्ट्र बैंकको अनुमान
समग्र बैंकिङ क्षेत्रले रिकोभरीमा चुनौती भोगिरहे पनि नियामक राष्ट्र बैंक भने सकरात्मक वित्तीय विवरण आउनेमा आसावादी छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट समग्र अर्थतन्त्रले सुधारको बाटो समाइरहेका बेला बैंकहरुको वित्तीय विवरण विग्रनुपर्ने कुनै कारण देख्दैनन्।
‘समग्र अर्थतन्त्रको पहिलेको भन्दा सुधार भएको तथ्यांकले देखाएको र वित्तीय क्षेत्रमा कस्तो प्रभाव पर्यो भन्ने विषय बैंकहरुले प्रकाशित गर्ने वित्तीय विवरणमा देखिन्छ,’ प्रवक्ता डा. भट्टले क्यापिटल नेपालसँग भने, ‘आर्थिक क्रियाकलाप विस्तार भइरहेको छ। आर्थिक स्थायित्व कायम भएको छ। यसरी हेर्दा बैंकिङ क्षेत्रले पनि क्रमिक रुपमा लाभ लिन्छ।’