काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी पुनःवितरणको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईका अनुसार माघे संक्रान्ति बिहान ९ बजे प्रधानमन्त्री दाहालले सिंहदरबारबाट पानीको धारा घुमाएर वितरण सुरु गर्नेछन्।
यसअघि २०७७ चैत २० मा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपको धाराबाट पहिलो पटक उपत्यकामा पानी वितरण सुरु गरेकी थिइन्। त्यस्तै, २०७९ मंसिर २३ मा तत्कालिन खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ बानेश्वर स्थित मिनभवनको ट्याङ्कीबाट पानी पुनः वितरण सुरु गरेका थिए।
निर्माणको अन्तिम चरणमा पुगेर सुरुङ परीक्षणको क्रममा २०७८ असार १, साउन १६ र १७ मा मेलम्ची खोलामा गएको बाढीका कारण आयोजनामा क्षति पुगेको थियो। त्यसयता बर्खामा सुरुङ बन्द गरेर हिउँदमा मात्रै मेलम्चीको काठमाडौंमा पानी ल्याउने गरिन्छ।
यो वर्ष असार अन्तिममा बन्द भएको मेलम्चीको पानी खानेपानी मन्त्रालयका तत्कालिन सचिव रामआधार साहका कारण मर्मतमा ढिलाई भएको थियो। जसका कारण मंसिर २८ को मन्त्रिपरिषद्ले सचिव साहलाई हटाएर खानेपानी सचिवमा सुरेश आचार्यलाई सरुवा गरेको थियो।
सचिव आचार्य पुस २ मा मन्त्रालय हाजिर भएर ३ गते मेलम्चीको पानी अस्थायी मर्मत गरेर ल्याउने निर्णय गरेका थिए। चाइनिज निर्माण कम्पनी सिनो हाइड्रोसँग २८ दिनभित्र मर्मत गरेर अस्थायी पानी विरण सुरु गर्ने प्रतिबद्धता जनाएअनुसार माघ १ बाट पानी वितरण सुरु हुन लागेको हो।
मेलम्चीबाट काठमाडौंमा दैनिक १७ करोड लिटर पानी ल्याउने भनिएपनि अहिले करिब ५ करोड लिटर मात्रै आएको केयूकेएलका प्रवक्ता राई बताउँछन्। ‘सोमबार वितरण गर्दा करिब ५ करोड लिटर मात्रै हुन्छ, केयूकेएलको करिब १० करोड लिटर छुट्टै छ’ उनले भने।
प्रधानमन्त्रीले सिंहदरबारबाट धारा घुमाएपनि मेलम्चीको पानी अनामनगर, मिनभवन, महांकाल फाटलगायत क्षेत्रमा वितरण हुनेछ। त्यसबाहेक भक्तपुर बालाजु क्षेत्रमा पनि पानी वितरणको तालिका बनाउने केयूकेएलले जनाएको छ।