काठमाडौं। साताको पहिलो कारोबार सेयर बजारमा उछाल आएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अंकले बढेर २ हजार १ सय २० दशमलब ६२ को बिन्दुमा बन्द भएको हो।
पुस मसान्तको दिन (आज) बैंकको ऋणी लगानीकर्ताहरुमा साँवा ब्याज तिर्नु पर्ने तनाब समाप्त भएसँगै सेयर बजारमा लगानी बढाउँदा बजारमा उछाल आएको हो। साथै, सरकारले गत साता जलविद्युत क्षेत्रमा नयाँ लगानी भित्र्याउँने गरी भारतसँग विद्युत खरिदबिक्रीको सम्झौता गरेयता लगानीकर्ता हौसिदा यो जलविद्युत क्षेत्रका कम्पनीहरुको सेयर कारोबारसँगै मूल्य समेत बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव गरेको छ।
उक्त दिन कारोबारमा आएका ३ सय १४ कम्पनीका १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर ९४ हजार ५ सय २६ पटक खरिद बिक्री हुँदा कुल ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँ बढीको करोबार भएको छ।
कारोबार रकमको आधारमा सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको सर्वाधिक भएको छ। कम्पनीको १२ लाख ७४ हजार ४ सय २४ कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँले दरले खरिदबिक्री हुँदा कुल ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँ बढीको कारोबार भएको हो।
यसैगरी, सोमबार जलविद्युत क्षेत्रका ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उक्त दिन हिमालयन पावर पाटनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, मध्यभोटे कोशी जलविद्युत कम्पनी र माथिल्लो मैलुन खोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। साथै, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउसिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको छ।
समग्र बजारमा बढ्दा मेगा म्युचअल फन्डको ९.५३ प्रतिशत, निर्धन उत्थन लघुवित्तको ४.३१ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य २.९१ प्रतिशतले घटेको छ।