काठमाडौं। अंग्रेजी नयाँ वर्षको चापका कारण नेपालमा पनि ठूला होटलको अकुपेन्सी घटेको छ। नयाँ वर्षको अवसरमा विश्वका सिमित पर्यटकीय क्षेत्र बाहेक अन्यत्र पर्यटकीय गतिविधि न्यून हुन्छ। त्यसको प्रभाव नेपालमा पनि देखिएको हो।
पर्यटकीय गतिविधि सुस्ताउदा नेपालका ठूला होटलहरुको अकुपेन्सी एक तिहाईमा सिमित भएको सरोकारवालाहरुको भनाई छ। खासगरी विदेशीहरु क्रिसमश र नयाँ वर्ष आफ्नो परिवार र साथीभाईहरुबीच आफ्नै घरमा मनाउने गरेको कारण घुमघाममा निस्कदैन। जसको कारण होटलमा बस्ने ग्राहकको संख्या न्यून हुन पुगेको हो।
होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले ठूला होटलमा आफ्नो क्षमताको करिब ३० प्रतिशत मात्र बुकिङ रहेको बताए। ७० प्रतिशत कोठाहरु खाली रहेको बताउदै यो ट्रेन नेपालमा मात्र नभई विश्वभरनै रहेको उनको भनाई छ।
जनवरीको तेस्रो सातादेखि भने होटलमा ग्राहकको संख्या विस्तारै बढ्दै जाने उनले बताए। अहिले अर्को सिजनका लागि सोधखोज गर्नेहरुको संख्या धेरै रहेको उनको भनाई छ। होटलमा कोठा खाली भएपछि मूल्यमा घटाघट भइरहेको छ।
म्यारियट काठमाडौंका सञ्चालक शशिकान्त अग्रवालले होटलमा अकुपेन्सी ३० देखि ३५ प्रतिशतमा सिमित भएको बताए। अन्य महिनाको तुलनामा जनवरीमा संख्या घटेको बताउदै यसको मूख्य कारक प्रचारप्रसारको कमी नै भएको उनको भनाई छ। नेपाल पर्यटन बोर्डले छिमेकी मुलक भारतमा मात्र यो सिजनमा नेपालमा घाम लाग्छ र तातो हुन्छ भन्ने सन्देश प्रवाह गर्न सके धेरै भारतीय पर्यटकहरु नेपालमा ल्याउन सकिने बताउँदै त्यसको लागि सरकारी तदारुकता कमी भएको उनले बताए।
¥याडिसन होटलका सञ्चालिका विद्याता श्रेष्ठले होटलमा आउने ग्राहकको संख्या घटेको बताइन। ग्राहकको संख्या घटेपछि अहिले कोठाको मूल्य घटाएर बेच्न लागेको उनको भनाई छ। सिजनको बेला २१५ अमेरिकी डलरसम्म लिने कोठाको अहिले १०० डलरसम्ममा विक्रि गरिरहेको उनले बताए। डिमाण्ड बढ्दा मूल्य बढ्ने र घट्दा घटाउने गरिएको उनको भनाई छ।
एभरेष्ट होटलका मानव संशाधन तथा प्रशासन निर्देशक नारायण पौडेलले जनवरीदेखि ग्राहकको संख्या घटेको बताए। ‘अन्य महिनाको तुलनामा जनवरीमा ग्राहकको संख्या न्यून छ,’ निर्देशक पौडेलले भने, ‘संख्या घटेपछि मूल्यमा केहि घटबढ भएको छ।’
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२३ को डिसेम्बरमा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
ग्राहक तानातानमा व्यवसायी
विदेशी पर्यटकहरुको आगमण न्यून हुन थालेपछि व्यवसायीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा सुरु भएको छ। विभिन्न प्याकेज दिँदै ग्राहकहरुलाई लोभ्याउन थालेका छन्। जसको कारण बुकिङ भइसकेका होटलमा रद्ध गरेर अर्को होटलमा जानेको संख्या पनि बढ्न थालेको व्यवसायीहरुको भनाई छ।
पाँच तारे होटलले १३ हजारसम्ममा कोठा दिन थालेपछि तीन र चार तारे होटलहरुले मूल्य ह्वात्तै घटाएका छन्। कतिपय होटलले आफ्नो वेबसाइटमा राखेको मूल्य र ग्राहकलाई दिने मूल्य निकै अन्तर गरेर दिने गरेको एक व्यवसायीले बताए।
सस्तोमा कोठाहरु दिँदा ग्राहकलाई भने सहज भएको छ। तर, व्यवसायीहरुबीचको प्रतिस्पर्धाले भने पछि आउने सिजनमा अझै समस्या निम्तीने ती व्यवसायीले बताए।
ट्राभल एजेन्सीहरुले समेत अहिले होटल व्यवसायीहरुलाई कमिशनका लागि बार्गेनिङ गर्दै आएको नाम नलेख्ने सर्तमा एक व्यवसायीले क्यापिटल नेपाललाई जानकारी गराए। ‘अहिले एजेन्सीको प्रस्ताव नमान्दा होटलको कोठा नै खाली हुने स्थीति रहेकोले जतिमा भन्यो त्यतिमै दिनुपर्ने बाध्यता हामीलाई छ’,ती व्यवसायीले गुनासो गरे।
अहिले काठमाडौं उपत्यका भित्र मात्र एक दर्जनभन्दा बढी पाँच र चार तारे होटलहरु सञ्चालनमा रहेको छ। योसँगै रिसोर्ट र बुटिक होटलहरु पनि त्यतिनै संख्यामा रहेको छ।