काठमाडौं। माघ महिनामा बैंक ब्याजदर औषत १ प्रतिशत बिन्दुले घट्ने भएको छ। वाणिज्य बैंकहरुले पुस महिनामा दिएको निक्षेपको ब्याजदरभन्दा माघ महिनामा ०.८२ प्रतिशत बिन्दुले घटाएर औषत ८.१६ प्रतिशत कायम गर्ने भएका छन्। पुसमा वाणिज्य बैंकहरुको औषत निक्षेप ब्याजदर ८.९९ प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पछिल्लो महिनामा लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महिनाको मसान्तसम्म प्रकाशित गरिसक्नु पर्ने व्यवस्था गरेको छ। सोहीअनुसार २० वटै वाणिज्य बैंकहरुले माघ महिनामा लागू हुने निक्षेपको ब्याजदर पुस मसान्त (आज) प्रकाशित गरिसकेका छन्।
पुस महिनाको तुलनामा माघ महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १८ वटाले ०.२ प्रतिशत बिन्दुदेखि १.९० प्रतिशत बिन्दुले घटाएका छन्। जसमा सैभन्दा बढी प्राइम कर्मसियल बैंकले र सबैभन्दा कम सिटिजन्स बैंकले घटाएका हुन्। प्राइम कर्मसियल बैंकले पुस महिनामा निक्षेपकर्तालाई अधिकतम १० प्रतिशत ब्याजदर दिएकोमा माघ महिनामा ८.१० प्रतिशतमात्रै दिने भएको छ। साथै, सिटिजन्स बैंकले पुस महिनामा निक्षेपमा अधिकतम ९.३५ प्रतिशत दिएकोमा माघमा ९.१५ प्रतिशत दिने घोषणा गरेको छ।
अधिकांश वाणिज्य बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घटाउँदा एनएमबि बैंक र एभरेष्ट बैंकले भने पुस महिनामा दिएको निक्षेपको ब्याजदरलाई नै माघ महिनाको लागि समेत कायम गरेक छन्। पुसमा दिएको निक्षेपको ब्याजदर एनएमबिले ९ प्रतिशत र एभरेष्टले ८ प्रतिशत ब्याजदर माघमा समेत सोही दरमा दिने भएका हुन्।
यसैगरी, विगत केही महिना यता बैंकहरुमा नयाँ कर्जाको माग नभएको हुँदा निक्षेपको खर्च अर्थात ब्याजदर घटाइरहेका छन्। पुसमा दिएको ब्याजदरमा माघ महिनामा घटाइएको भएपनि उक्त महिना निक्षेपकर्ताले सबैभन्दा बढी ब्याजदर सिटिजन्समा र सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकमा निक्षेप राख्दा पाउँने छन्।
माघ महिनामा निक्षेपमा सिटिजन्सले ९.१५ प्रतिशत र कृषि विकास बैंकले ७.२६ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। साथै, माघ महिनामा १७ वटा वाणिज्य बैंकले ८ प्रतिशतमाथि ८.६० प्रतिशतसम्म एनएमबि र सिटिजन्सले ९ प्रतिशतमाथि निक्षेपमा अधिकतम ब्याजदर निर्धारण गरेका गरेका छन्।
वाणिज्य बैंकहरुको माघ महिनामा लागू हुने निक्षेपको अधिकतम ब्याजदर(प्रतिशतमा)