काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) विदेशी मुद्राको सटही रोकिदिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा पुगेको उल्लेख गरेको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवाप्रदायक (आइएसपी)ले भुक्तानी गर्न नपाउँदा इन्टरनेट सेवा अप्ठ्यारो अवस्थामा पुगेको बताएको हो।
‘गाँस, बास, कपासजस्तै अति आवश्यक सेवाका रूपमा रहेको इन्टरनेटको भविष्य अन्यौलतामा रहनु निकै दुःखद पक्ष हो,’ महासंघले भनेको छ, ‘भुक्तानी गर्न नपाउँदाको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने देखिन्छ। मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुंग्याउनु उचित देखिन्छ।’
यस्तै क्यान महासंघका अध्यक्ष रणजीतकुमार पौदारले सरकारले तत्काल यस समस्याको समाधान दिनुपर्ने उल्लेख गरका छन्। ‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ’
यस्तै क्यान महासंघले सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न अनुरोध पनि गरेको छ। साथै, यसका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको पनि महासंघले उल्लेख गरेको छ।
‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आइसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन’, क्यान महासंघका महासचिव चिरन्जिवी अधिकारी भने, ‘यसर्थ, व्यवसायीलाई खुलेर तथा जिम्मेवार भएर काम गर्ने वातारवरण पारिदिन नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँदछौं।’