काठमाडौं। राष्ट्रिय सहकारी महासंघको पुस २७ र २८ मा सम्पन्न ३१औं वार्षिक साधारणसभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ। २०५० मा स्थापित राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी हुन्।
निवर्तमान अध्यक्ष मीनराज कँडेलले महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको बताए। कँडेलअघि पूर्वमन्त्री केशव बडाल र दीपकप्रकाश बास्कोटाले महासंघको नेतृत्व गरेका थिए। २५ सदस्यीय सचालक समिति र तीन सदस्य लेखा सुपरिवेक्षण समितिका पदमा निर्विरोध भएको हो।
मल्ल यसअघि वरिष्ठ उपाध्यक्ष थिइन्। उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य भइसकेकी छन्।
संविधानसभा सदस्यसमेत रहेकी नवनिर्वाचित अध्यक्ष मल्लले सहकारी अभियान सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल, उपाध्यक्षमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन भए। सञ्चालकमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी(अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी सुवेदी पौडेल चयन भएका छन्।