काठमाडौं। रिडी पावर कम्पनीको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले सेयरधनीलाई लाभांश वितरण प्रस्ताव नगरे पनि अर्काे वर्ष राम्रो डिजिटमा लाभांश दिने प्रतिबद्धता जनाएको छ।
कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र आव २०८०/८१ का लागि लेखा परीक्षक नियुक्तिका साथै पारिश्रमिक निर्धारण गरेको छ।
कम्पनी मातहतमा अहिले ४ वटा आयोजना सञ्चालनमा छन्। कम्पनीको पहिलो जलविद्युत् आयोजना धादिङको थाक्रे गाउँपालिकामा ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत आयोजना २०६१ देखि सञ्चालनमा छ भने दोस्रो रिडी खोलामा २४०० किलोवाट क्षमताको रिडी खोला जलविद्युत् आयोजना निर्माण २०६६ मा सम्पन्न गरी राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत आपूर्ति गरिरहेको छ।
त्यसैगरी कम्पनीको तेस्रो आयोजना पाँचथर र ताप्लेजुङको सीमा भएर बहने इवा खोलामा ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७६ असोज २० बाट व्यावसायिक उत्पादन गरी राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ।
कम्पनीको चौथो आयोजनाको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८५०० किलोवाटको बुटवल ग्रिड जडित सौर्य विद्युत् आयोजना निर्माण गरी २०७७ कात्तिक १५ देखि व्यवसायिक उत्पादन गर्दै आएको छ।
सम्पूर्ण आयोजना गरी कम्पनीे मातहतमा कुल २१.३१ मेगावाटका विद्युत आयोजना सञ्चालनमा छन्। रिडी पावर कम्पनीको लगानी रहेको साझा पावर डेभलपमेन्ट प्रालिले अहिले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
यो आयोजनामा कुमारी बैंकको मुख्य लगानी रहेको छ। यस आयोजनामा लगानीकर्तालाई संस्थापक सेयरमा लगानी गर्ने अवसर दिइरहेको कम्पनीले जनाएको छ।