काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।
प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो। सेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति दिइसकेको छ।
अर्थको सहमतिपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ। प्राधिकरण सञ्चालक समितिको गत मंसिर २५ को बैठकले यससम्बन्धी निर्णय गरेको थियो।
सञ्चालक समितिले अर्थबाट अधिकृत पुँजी ३ खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति (नेटवर्थ) को दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जामार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइने भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा सोही निर्णय पुस १९ मा पेस गरिसकेका छन्। प्राधिकरणको हाल अधिकृत पुँजी १ खर्ब २५ अर्ब बराबर छ।
प्राधिकरणको सेयर प्रतिकित्ता किताबी मूल्य करिब १२५ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थपेर सेयर निष्कासन प्रस्ताव गरिएको छ। यस हिसाबले प्राधिकरणको सेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता साढे दुई सय खर्चिनुपर्नेछ।–रासस