काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग आग्रह गरेका छन्। देशको आर्थिक विकासका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए।
शनिबार नेपाल हस्तकला महासंघको ४३औं साधारणसभा अवसरमा सहभागी अध्यक्ष ढकालले हस्तकला उद्योगले देशको अर्थतन्त्रमा ठूलो टेवा दिँदै आएकाले सरकारले बजार विस्तारमा सघाउनुपर्ने आवश्यकता औंल्याए।
मुलुकको आर्थिक परिसूचकांक सकारात्मक दिशाउन्मुख रहेको उल्लेख गर्दै उनले सकारात्मक सोचसहित आर्थिक गतिविधिलाई तीव्रता दिन व्यवसायीलाई आग्रह गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला क्षेत्रमा पुस्तान्तरण अभाव देखिन थालेकामा चिन्ता व्यक्त गर्दै युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न विभिन्न योजना ल्याइनुपर्ने बताए। उनले व्यापार घाटा घटाउन हस्तकला क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको दाबी गरे।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै निर्यात प्रवद्र्धनमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले अन्तर्राष्ट्रिय समुदायमा देशको कला, संस्कृति, पहिचान एवं गरिमा बढाउने हस्तकला क्षेत्र भएको उल्लेख गर्दै यसको प्रवद्र्धनमा सबैको सहयोग रहेको औंल्याए।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्व बजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न उद्यमीलाई सुझाए।
ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्यले हस्तकला क्षेत्रको विकासमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताइन्।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यवसाय प्रवद्र्धन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सरकारसँग माग गरे। उनले सम्पूर्ण सरकारी कार्यालयमा हस्तकलाका सामग्री प्रयोगलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा सहभागी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा रहँदै आएको हस्तकला क्षेत्रलाई उँभो लैजान सरकार प्रतिबद्ध रहेको बताए।
उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने जानकारी दिए।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्राकारले हस्तकलाका उत्पादन निर्यात गरी मुलुकको आर्थिक अवस्थालाई सबल बनाउन सकिने दृष्टान्त दिँदै निर्यात प्रवद्र्धनमा सहजीकरण गर्न बागमती सरकार तयार रहेको बताए।