काठमाडौं। सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधी उत्पादन गर्ने योजना अघि सारेको छ।
हाल उत्पादन भइरहेका औषधीका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधी कम्पनी आफैंले उत्पादन गर्ने तयारी गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका कम्पनीले उत्पादन गर्ने योजना बनाएको छ।
स्वदेशमै उत्पादन गरेर सरकारलाई औषधी बिक्री गर्ने तयारी गरिरहेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।
प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ। उनका अनुसार कम्पनीको संस्थागत क्षमता अभिवृद्धि गरी दिगो रुपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालय र कम्पनीबीच सम्झौता भएको छ।
विगतमा कम्पनीले एक सय ४६ किसिमका औषधी उत्पादन गर्दै आएको थियो। केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ किसिमका औषधी उत्पादन गर्दै आएको छ। सरकारले निःशुल्क वितरण गर्दै आएको औषधी उत्पादनमा जोड दिँदै आएको लिमिटेडले पछिल्लो समय लगानीसँगै उत्पादनमा विविधीकरण गर्ने योजना बनाएको हो।
प्रतिस्पर्धी बजारमा तालमेल गर्न नसक्नु र प्रविधिमैत्री बन्न नसक्दा यस्ता सरकारी स्वामित्वका कम्पनीको प्रवद्र्धन हुन सकेका छैनन्। प्रधानमन्त्री दाहालको निर्देशन र लिमिटेडले तयार पारेको कार्ययोजनासहित प्रतिस्पर्धामा उत्रिनका लागि सहयोग पुग्ने महाप्रबन्धक पनेरुले विश्वास व्यक्त गरे। उनले भने, ‘हाल केही औषधीमा प्रतिस्पर्धा गर्न सकिन्छ। आगामी दिनमा कम्पनीको क्षमता विस्तार हुँदै गएपछि बजारमा उपलब्ध अन्य औषधीसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्नेछ।’
गुणस्तरीय औषधी उपलब्ध गराउन कम्पनी तयार रहेको उल्लेख गर्दै महाप्रबन्धक पनेरुले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधी बिक्री वितरण गर्ने बताए। उनका अनुसार कम्पनीले विगतको तुलनामा उत्पादन र बिक्री बढाएको छ। पछिल्लो एक महिनामै एक करोड ५० लाखसम्मको औषधी बिक्री गर्न सफल भएको छ।
कम्पनीका अध्यक्ष यज्ञप्रसाद न्यौपानले सरकारले जनतालाई उपलब्ध गराउने ९८ किसिमका औषधी उत्पादन गरेर बिक्री गर्ने मुख्य उद्देश्य रहेको र सोहीअनुसार योजना अगाडि बढेको जानकारी दिए।
उनका अनुसार प्रतिस्पर्धी क्षमता विस्तार गर्न हाल कम्पनीले ओगटेको क्षेत्रलाई स्वआर्जनमूलक परिसरमा रूपान्तरण गर्ने, व्यावसायिक रूपमा ‘मेडिकल हब’ सञ्चालन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको छ।
बर्सेनि अर्बौंको औषधीजन्य पदार्थ आयातलाई निरुत्साहित तुल्याउन पनि कम्पनीको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको महाप्रबन्धक पनेरुले बताए। उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ८० करोड बराबरको औषधिजन्य पदार्थ आयात भएको छ।
गत आर्थिक वर्षमा २०७९/८० मा ४४ अर्ब ६४ कारोड बराबरको औषधीजन्य पदार्थ नेपाल भित्रिएको थियो। सबैभन्दा बढी औषधीजन्य पदार्थ भारतबाट आउने गरेको छ। गत वर्ष नेपालबाट १ अर्ब ६० करोडका औषधीजन्य वस्तु निर्यात भएको थियो।