काठमाडौं। चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ उत्पादन (जिडिपी)मा ३.२ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको त्रैमासिक तथ्यांकनुसार जिडिपी वृद्धिदर खुम्चिएको हो।
‘आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ’, तथ्यांक कार्यालयले भनेको छ।
कार्यालयका अनुसार चालू आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा सबैभन्दा बढी १५.८ प्रतिशतले खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ।
यसैगरी निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुंगा उत्खननको मूल्यअभिवृद्धि ११ दशमलव चार प्रतिशतले बढेको छ।
वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३.२ प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ। चालू आवको पहिलो त्रैमासिक अवधिमा पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सकारात्मक देखिएको छ ।
अर्थतन्त्रमा सबभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर एक दशमलव चार प्रतिशत हुने अनुमान गरिएको छ। धान उत्पादनमा भएको वृद्धिले पनि यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयले जनाएको छ।
थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिभन्दा चालू आवको पहिलो त्रैमासिक अवधिमा एक दशमलव दुई प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ।