काठमाडौं। १० वर्षयता नयाँ उद्योग स्थापनाका लागि २२ खर्ब ३८ अर्बको लगानी प्रतिबद्धता प्राप्त भएको तथ्यांक उद्योग विभागले सार्वजनिक गरेको छ। उक्त समयावधिभित्र ३ हजार ८ सय साना, मझौला तथा ठूला उद्योग दर्ता भएको विवरण विभागसँग छ।
३ हजार ८ सय उद्योगमा २२ खर्ब ३८ अर्बको लगानी प्रतिबद्धता प्राप्त भएको विभागको पछिल्लो आँकडाले देखाएको हो।
विभागका अनुसार सबभन्दा बढी लगानी प्रतिबद्धता आर्थिक वर्ष २०७८/७९ मा ३ खर्ब ३९ अर्बको थियो। गत आवमा ३ सय ९ उद्योग दर्ता भएका थिए।
यस्तै, आव २०७९÷८० मा उद्योगको लगानी प्रतिबद्धतामा कमी आएको तथ्यांक विभागसँग छ। गत आवमा अघिल्लो आवभन्दा सवा १ खर्बले उद्योगमा लगानी प्रतिबद्धता कम भएको थियो। तथ्यांकअनुसार गत आवमा ३ सय २२ वटा उद्योग दर्ता भएका थिए।
विभागका अनुसार २०७०/७१ मा २ खर्ब ९६ अर्ब ८८ करोड, २०७१/७२ मा १ खर्ब ८३ अर्ब ७५ करोड, २०७२/७३ मा १ खर्ब २० अर्ब ३७ करोड, २०७३/७४ मा १ खर्ब ६२ अर्ब ९५ लाख, २०७४/७५ मा ३ खर्ब २८ अर्ब ५४ रुपैयाँको लगानी प्रतिबद्धता आएको विवरण विभागले सार्वजनिक गरेको छ।
यस्तै, २०७५/७६ मा २ खर्ब ८३ अर्ब ३५ करोड, २०७६/७७ मा १ खर्ब ५२ अर्ब ६२ करोड, २०७७/७८ मा १ खर्ब ५६ अर्ब ६४ करोड, २०७८/७९ मा ३ खर्ब ३९ अर्ब ५९ करोड र गत आवमा २ खर्ब १४ अर्ब २२ करोडको लगानी प्रतिबद्धता आएको थियो।