काठमाडौं। देशको आर्थिक अवस्थामा सुधारका संकेत देखिन थालेका छन्। मुख्य आर्थिक सूचकांकको रुपमा रहेको देशको शोधनान्तर बचत एक महिनामै करिब साढे ६३ अर्बले थप भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकद्वारा बिहीबार सार्वजनिक चालू आर्थिक वर्षको ५ महिना अर्थात् मंसिरसम्मको देशको शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ।
चालू वर्षकै ४ महिना अर्थात कात्तिक महिनासम्म शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा थियो। एक महिनामै देशको शोधनान्तर स्थिति ६३ अर्ब ४८ करोड रुपैयाँ बचत थप भएको हो।
रेमिट्यान्स वृद्धि, पर्यटन आगमनमा सुधारलगायत कारणले शोधनान्तर बचत बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ।
यस्तै, समीक्षा अवधिमा चालू खाता १ खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक थियो।