काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा संस्थाको बिहीबार बसेको कार्यसमिति १५औं बैठकले स्वीकृत गरेको छ।
एनएमबी बैंकको आसन्न साधारणसभाबाट बैंक सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानलाई आत्मसात् गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएको सिबिफिनले जनाएको छ।निवर्तमान अध्यक्ष गोल्यानकै अगुवाइमा २०७६ मा सिबिफिन स्थापना भएको थियो।
सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आएका गोल्यानको चारवर्षे कार्यकालमा संस्थाले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ।
निवर्तमान ध्यक्ष गोल्यानको दूरगामी सोच एवं मार्गनिर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवं बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्रीजस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको छ। नेपालको बैंकिङ क्षेत्रमा दुई दशक लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको यो क्षेत्र विस्तारमा महत्त्वपूर्ण योगदान छ।
स्वदेशी उत्पाकत्व अभिवृद्धि, उपयोग एवं निर्यात, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारी, नवप्रवर्तनको विकास, घरेलु, साना तथा मझौला उद्यमी तथा व्यवसायको पुनरुत्थानसहित राष्ट्रिय अर्थतन्त्रलाई सवल, सुदृढ र आत्मनिर्भर उन्मुख बनाउन गोल्यानले भूमिका निर्वाह गर्दै आएका छन्।
निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त अध्यक्षमा परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय अध्यक्षताको कार्यसमितिको १५औ बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिन कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
अध्यक्षमा सर्वसम्मत भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेका थिए। एनएमबीबाट अवकाश लिएपछि उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन्।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका अध्यक्ष पौडेल आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकासमा काम गर्ने विश्वभर रहेका बैंक तथा बैंकिङ संस्थाको स्वतन्त्र सञ्जाल ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुज्को सन् २०१८ देखि एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी छन्।
सन् २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष रहेका पौडेल सन् २०२२ देखि म्यानेजमेन्ट एसोसिएसन अफ नेपला (म्यान)को अध्यक्ष, डिसेम्बर २०१० देखि मार्च २०१७ सम्म युरोपियन इकोनोमिक चेम्बर (इइसी) कोषाध्यक्ष तथा जुलाई २०१५ देखि अगस्ट २०१९ सम्म नेपाल बैंकिङ इन्स्टिच्युटको बोर्ड सदस्यको जिम्मेवारी सम्हालेका थिए।