काठमाडौं। सर्वसम्मत नयाँ नेतृत्व चयन भएको अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) मा एक सातामै विवाद भएको छ। नाडामा करण चौधरीले नेतृत्व गरेको एक साता पनि नबित्दै आकाश गोल्छा प्यानल असन्तुष्ट बनेको हो।
करणले सम्झौता विपरीत काम गरेको गोल्छा प्यानलको आरोप छ। तर, चौधरी पक्षले भने गोल्छा प्यानलले आफूखुसी गर्न नपाएपछि बाहिरिन लागेको जनाएको छ।
गोल्छा र ध्रुव थापा पक्षले प्रतिनिधि नै नभएका, निर्वाचन प्रणालीमा सहभागी नभएका सगुन कंशाकारलाई सदस्य बनाउन दबाब दिएपछि अध्यक्ष चौधरीले नैतिकताको आधारमा बनाउन नमिल्ने अडान राखेका थिए। ‘सोही अडानपछि गोल्छा पक्ष असन्तुष्ट भएको हो’, अध्यक्ष करण चौधरीले भने।
अध्यक्ष करणको कुरा सत्य नभएको गोल्छा प्यालनका एक सदस्यले बताए। ‘‘पहिले अध्यक्षका तर्फबाट तीन र वरिष्ठ उपाध्यक्षका तर्फबाट दुई जना मनोनीत गर्ने सम्झौता भएको थियो। सोहीअनुसार विधान संशोधन पनि गरियो। यदि सगुन प्रतिनिधि नभएकै कारण मनोनीत गर्न नमिल्ने भए आकाशलाई अर्को व्यक्ति सिफारिस गर्न भन्न सकिन्थ्यो। तर, चौधरीले एकलौटी रुपमा आफ्नो मान्छे मनोनीति गर्नुभयो’, ती सदस्यले भने।
नाडा नेतृत्वका लागि अध्यक्षमा गोल्छा चुनाव लड्ने तयारी भए पनि अन्तिममा चौधरीलाई समर्थन गर्दै सर्वसम्मत बनाउन लागेका थिए। सोही बेला केही सदस्य र केही एजेन्डा आफ्नो हुनुपर्ने माग गोल्छाको थियो। तर, चौधरीले सम्झौता विपरीत काम गर्न थालेकाले नाडाबाट बाहिरिन लागेको गोल्छा पक्षले जनाएको छ।
गोल्छा र ध्रुव थापा पक्षले प्रतिनिधि नै नभएका, निर्वाचन प्रणालीमा सहभागी नभएका सगुन कंशाकारलाई सदस्य बनाउन दबाब दिएपछि अध्यक्ष चौधरीले नैतिकताको आधारमा बनाउन नमिल्ने अडान राखेका थिए। ‘सोही अडानपछि गोल्छा पक्ष असन्तुष्ट भएको हो।
समर्थन गरेको बहानामा विधान र नैतिकता बाहिर गएर निर्णय गर्न नमिल्ने चौधरी पक्षले जनाएको छ।
निर्वाचन प्रणालीमा साधारण सदस्यसमेत नभएको र ब्याकडेटमा रसिद लिएको देखिएपछि कंशाकारलाई सदस्य बनाउन नमिलेको नाडाले जनाएको छ। ब्याकडेटमा रसिद काटेको कुरा सत्य नभएको गोल्छा पक्षको तर्क छ। पुस ११ सम्म सदस्यता नवीकरण गर्न मिल्ने बताएर नाडाले पत्रिकामा सूचना निकालेको र कंसाकारले ९ पुसमै नकीरण गरेको गोल्छा पक्षले जनाएको छ।
प्यानल बनाएर निर्वाचन लड्न लागेका अटो व्यवसायीले एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चुने पनि चरम गुटबन्दीका कारण एक सातामै विवाद सिर्जना भएको हो।