काठमाडौं। सडक विभागअन्तर्गतको पुल महाशाखाले नारायणी नदीमा निर्माण गर्न लागिएको सिग्नेचर ब्रिजको डिजाइन अध्ययन सुरु गरेको छ। निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनले बनाएको डिजाइनमा केही सुझाव दिएर थप अध्ययन गरिरहेको महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) कृष्णराज अधिकारीले बताए।
महाशाखाले गत जेठमा तुँदी कन्स्ट्रक्सनसँग १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ४२० मिटर लामो पुल निर्माण सम्झौता गरेको थियो। एक वर्षमा डिजाइन तयार र तीन वर्षमा निर्माणावधि तोकेर चार वर्षभित्र निर्माण कम्पनीले सिग्नेचर ब्रिज बनाउनुपर्ने सम्झौता छ।
सोहीअनुसार तुँदीले पुलको डिजाइन गरेर महाशाखालाई बुझाएको हो। महाशाखाले पनि आफ्नो तर्फबाट सुझाव दिँदै डिजाइन संशोधन गर्न लगाइरहेको सिडिई अधिकारीले बताए।
‘निर्माण कम्पनीले बनाएको डिजाइनमा हामीले सुझाव दिँदै आएका छौं। तीन चरण छलफल भइसक्यो। अझै दुईपल्ट छलफल हुन्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘सुझावपछि अहिले प्रारम्भिक चरणको डिजाइन पाएका छौं। १०÷१२ दिनमा अध्ययन सकेर फेरि सुझाव दिन्छौं।’
महाशाखाले गत जेठमा तुँदी कन्स्ट्रक्सनसँग १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ४२० मिटर लामो पुल निर्माण सम्झौता गरेको थियो। एक वर्षमा डिजाइन तयार र तीन वर्षमा निर्माणावधि तोकेर चार वर्षभित्र सिग्नेचर ब्रिज बनाउनुपर्ने सम्झौता छ।
नेपालमा सिग्नेचर प्रविधिका पुल भर्खरै बन्न सुरु भएकाले निर्माण कम्पनीदेखि महाशाखाका इन्जिनियरलाई डिजाइन र निर्माणमा सजिलो छैन। यसले गर्दा पटक–पटक छलफल र संशोधन गर्दै डिजाइन तयार गर्दै आएको बताइएको छ।
महाशाखाको सुझाव
निर्माण कम्पनी तुँदीले डिजाइन गर्दा नारायणीमा बोट चलाउँदा असर पुग्ने देखिएको थियो। महाशाखाले मुख्यतः नदीमा बोट चलाउँदा असर नहुने गरी डिजाइन गर्न कम्पनीलाई सुझाएको छ।अन्य विषयमा पनि महाशाखाले सुझाव दिएको जनाएको छ।
कहाँ बन्छ सिग्नेचर
महाशाखाले ठेक्का सम्झौता गर्दासम्म पुल बन्ने स्थान निश्चित थिएन। निर्माण कम्पनीले अहिले सञ्चालनमा रहेको पुलसँगै जोडिने गरी माथिल्लो भागमा बनाउने डिजाइन तयार गर्दै छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा सिग्नेचर ब्रिज दुई लेनको निर्माण हुनेछ।
सोही स्थानमा सरकारले सडकलाई एसियन हाइवेयका रुपमा विकास गरेर ४ लेन बनाएको छ। हाल सञ्चालनमा रहेको पुल दुई लेनको छ। चार लेनको सडकमा दुई लेनको सिग्नेचर ब्रिजले मात्रै सवारीको चाप धान्न नसक्ने भएपछि फेरि अर्को पुल बनाउन लागिएको हो।
निर्माण कम्पनीले अहिले सञ्चालनमा रहेको पुलसँगै जोडिने गरी माथिल्लो भागमा बनाउने डिजाइन तयार गर्दै छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा सिग्नेचर ब्रिज दुई लेनको निर्माण हुनेछ।
यद्यपि नारायणी नदीसहित अन्य स्थानमा सिग्नेचर ब्रिज भनेर चर्चा गरिए पनि नेपालमा सिग्नेचर ब्रिज निर्माण सुरु नभएको सिडिई अधिकारी बताउँछन्। नेपालमा बनेका अन्य पुलभन्दा फरक र सिग्नेचरजस्तै बनाउन लागिएको तर, पूर्णत सिग्नेचर भन्न नहुने उनको तर्क छ।
यस्तो छ अरु सिग्नेचर ब्रिजको तयारी
हाल बनेका पुलभन्दा १.२ किलोमिटर टाढा अर्को सिग्नेचर निर्माण गर्न महाशाखा आफैंले डिजाइन तयार गरेको हो। ‘विजयपुर नारायणी नदीमा अर्को सिग्नेचर बनाउन आन्तरिक रुपमा डिजाइन बनाउँदैछौं किनकि नेपालमा इन्जिनियरका लागि नयाँ डिजाइन भएकाले सिक्नुपर्नेछ’, सिडिई अधिकारीले भने। यद्यपि कहिलेसम्म डिजाइन तयार भएर निर्माण चरणमा जान्छ भन्नेबारे उनले प्रस्ट्याएनन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा नरायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण थाल्ने घोषणा गरेका थिए। तिनाउ नदीमा चार लेनको सिग्नेचर ब्रिज निर्माण तयारी रहेको महाशाखाको भनाइ छ। त्यसबाहेक ललितपुरको ज्वागल र कास्कीको विजयपुरमा सिग्नेचर ब्रिज निर्माणलाई प्राथमिकता दिइँदै छ।
त्यसैगरी फ्लाई ओभर निर्माण गर्न पनि महाशाखाले अध्ययन गर्दै छ। निर्माणाधीन ग्वार्को फ्लाई ओभरबाहेक आवश्यकता हेरेर काठमाडौं उपत्यकाभित्र वा बाहिर अध्ययन गर्ने योजना बनाइएको सिडिई अधिकारी बताउँछन्।