काठमाडौं। लगानी जुटाइसकेको प्रस्तावित विश्वकै सबैभन्दा लामो केबुलकार निर्माता मुक्तिनाथ दर्शन प्रालिले अपडेट गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लगानी बोर्डमा बुझाएको छ।
मुक्तिनाथले बुधबार नै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) पनि बुझाएको लगानी बोर्डले जनाएको छ।
८१ किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने लगानी बोर्डले जनाएको छ। डिपिआर र इआइए प्रतिवेदन बुझाइसकेकाले अब लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच आयोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुला भएको छ।
भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबुलकार परियोजना बनाउनुका साथै लगानीसमेत गर्ने भएको छ। इन्जिनियरिङ प्राेक्याेरमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडेलमा केबुलकार परियोजना बनाउन विकासकर्ता मुक्तिनाथ र के एन्ड आरबीच प्रारम्भिक सम्झौता भइसकेको छ।
के एन्ड आरले केबुलकार बनाउनुका साथै अपरिवर्त्य मुद्रामा लगानी गर्ने विषयमा प्रारम्भिक समझदारी भएको मुक्तिनाथले जनाएको छ। सेयर होल्डिङ सम्झौता गर्न के एन्ड आर इन्जिनियरिङका प्रतिनिधि अहिले काठमाडौंमा छन्। केही दिनभित्र आयोजनामा लगानी गर्ने विषयमा सम्झौता हुने मुक्तिनाथ दर्शनले जनाएको छ।
मुक्तिनाथले प्रशासनिक र कानुनी प्रक्रिया पूरा गरेपछि तत्कालीन अवस्थाको मूल्य निर्धारणका आधारमा के एन्ड आरसँग पूर्णसम्झौता हुने भएको छ।
इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना हो। सरकारले दुई वर्षअघि बजेटमा ठूला परियोजना इपिसिएफ मोडेलबाट बनाउने बजेटमा ल्याएको थियो। समझदारीअनुसार कुल रकमको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको छ।
२ प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा, ७ प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी हुने भएको छ।
शिलान्यास भएको मितिले बढीमा चार वर्षभित्र केबुलकार निर्माण सम्पन्न हुने मुक्तिनाथ दर्शनले जनाएको छ। आयोजनलाई चाहिनेमध्ये ९० प्रतिशत जग्गा खरिद प्रक्रिया अघि बढिसकेको छ।
गत आर्थिक वर्षको बजेटमा सरकारले पनि महत्व दिँदै मुक्तिनाथ केबुलकार बनाउन सहजीकरण गर्ने भनेको थियो ।
मुक्तिनाथले केबुलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो।
केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन्। यीमध्ये ८ स्टेसनमा अनिवार्य ओर्लिनुपर्ने छ। ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ।
कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकारमा ७ सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ।
मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ। प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ।
यस्तै केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ। दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहने छ।
त्यसैगरी पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ।
वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको मुक्तिनाथ केबुलकारमा सोही क्षमताबराबरको गोन्डोला राखिने छ। केबुलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली खपत हुनेछ।