गुजरात (भारत)। अर्थमन्त्री डा। प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ मा हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो बाँडेका छन्।
भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन्।
‘नेपालमा वैशाख १६ र १७ मा लगानी सम्मेलन गरिँदै छ। यो मञ्चबाट भारतसँगै अन्य देशका लगानीकर्तालाई पनि निम्तो गर्छु। तपाईंहरुको इनोभेटिभ बिजनेस आइडिया र लगानी निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्ने आशा छ’, उनले भने।
नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्र पनि रहेको जानकारी उनले गराए।
‘दिगो र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्न व्यावसायिक सञ्जाल, ज्ञान आदान–प्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीबाट २००३ मा परिकल्पना गरिएको भाइब्रेन्ट गुजरात अवधारणा प्रशंसा गर्दै उनले भने, ‘राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौती सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशका लागि प्रेरणाको स्रोत भएको छ।’
सन् २०१४ मा नेपालको संसद्मा प्रधानमन्त्री मोदीले गरेको भाषण आफ्नो सम्झनामा रहेको मन्त्री महतले बताए। मन्त्री डा। महतले भने, ‘विशेषगरी तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन। हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन सँगै काम गरिरहेका छौं।’
हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ। यसले नेपालमा जलविद्युत्मा लगानीको ठूलो अवसर खोल्ने उनको भनाइ छ।
यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा संक्रमण लक्ष्य हासिल गर्न मद्दत गर्ने धारणा मन्त्री महतले व्यक्त गरे। नेपालले ९० दशकको सुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको र धेरै अन्तर्राष्ट्रिय संस्था एवं बहुपक्षीय एजेन्सीको सदस्य रहेको उनले जानकारी दिए।