इलाम। इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ।
यसका लागि नगरले कार्यविधिसमेत तयार गरेको छ। नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।
अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बिमासम्बन्धी तालिम दिन थालेको छ। ‘नगरले पशुपक्षी र बाली बिमाबारे किसानलाई जानकारी दिन टोलटोलमा तालिम र अन्तक्र्रिया गरिरहेका छौं’, उनले भने, ‘सबै वडा र टोलमा कार्यक्रम सकेपछि यथेष्ट तथ्यका आधारमा बिमाबापतको अनुदान दिनेछौं।’
पशुपक्षी र बाली बिमामा किसानले बेहोर्ने बिमाशुल्कको आधा रकम सूर्योदयले बेहोर्ने भएको हो। बिमा प्रोत्साहनका लागि १० लाख विनियोजन गरेको छ। पशु र बाली बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ।
सूर्योदय नगरपालिकाले लम्पीस्किन महामारीबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन थालेको छ। नगरले माउ गाई मरेका किसानलाई २० हजार, कोरली गाई मरेका किसानलाई १० हजार र गोरु मरेका किसानलाई पाँच हजार राहत दिन थालेको नगरप्रमुख राईले बताए।
लम्पीस्किन रोगबाट नगरपालिकाभर सात सय ४४ गाईवस्तु मरेका थिए। सूर्योदयले लम्पीस्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न एक करोड २५ लाख विनियोजन गरेको छ।–रासस