म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबासीले बगरखोला गाउँको स्वरुप नबिग्रने गरी जलविद्युत् आयोजना बनाउन माग गरेका छन्। रघुगंगा –७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी छ।
रघुगंगा–७ ले मंगलबार आयोजना गरेको सर्वपक्षीय भेलाले गाउँ नजिक निर्माण गर्न प्रस्ताव गरिएको उक्त आयोजनाले वातावरणीय र प्राकृतिक स्वरुपमा समेत प्रतिकूल प्रभाव पार्ने निष्कर्ष निकालेको छ।भेलाले यथास्थितिमा आयोजनालाई अघि नबढाउन मागसमेत गरेको छ।
गाउँकै नजिकबाट बग्ने खोलाको पानीलाई सुकाएर जलविद्युत् निर्माण गर्दा बगरखोलाको अस्तित्व समाप्त हुने र गाउँको फेदीतर्फ विद्युत् गृह बनाउँदा गाउँको प्राकृतिक स्वरुप बिग्रने भएकाले अहिले प्रस्तावित ठाउँमा आयोजनालाई बनाउन नदिने निर्णय गरेको वडाध्यक्ष थकबहादुर पाइजाले बताए।
उनका अनुसार गाउँको छेउमा रहेको धमाखु खेलमैदानदेखि माथि रहेको कुकुर भुक्ने स्थानतर्फ विद्युत् गृह रहने गरी आयोजनालाई बनाउन स्थानीयले आयोजना प्रवद्र्धकलाई सुझाव दिएका छन्। चिमखोलाको पात्लेखेत गाउँको फेदीमा बाँध रहने यस आयोजनाको विद्युत् गृह चिमखोला गाउँभन्दा केही तल प्रस्ताव गरिएको थियो।
रघुगंगा–७ ले मंगलबार आयोजना गरेको सर्वपक्षीय भेलाले गाउँ नजिक निर्माण गर्न प्रस्ताव गरिएको उक्त आयोजनाले वातावरणीय र प्राकृतिक स्वरुपमा समेत प्रतिकूल प्रभाव पार्ने निष्कर्ष निकालेको छ।
मोना हाइड्रोपावर कम्पनीका अध्यक्ष चक्रबहादुर थापालगायत आयोजना प्रवद्र्धकको टोलीको सहभागिता रहेको उक्त सर्वपक्षीय छलफलमा स्थानीयले प्रभावित क्षेत्रका सरोकारवालालाई जानकारी नदिईकन आयोजनाको नक्सांकन भएको जनाउँदै आपत्ति जनाएका थिए।
कार्यक्रममा प्रवद्र्धक कम्पनी अध्यक्ष थापाले बगरखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमति लिएको कम्पनीले काम अघि नबढाएका कारण खारेजी अवस्थामा पुगेपछि आफूहरूले सक्रियता जनाएर आयोजनालाई अघि बढाउन लागेको जानकारी गराएका थिए।
उनले प्रवासी म्याग्देलीको नेतृत्वमा यस आयोजनालाई अघि बढाउन लागिएको बताउँदै आयोजना बनाउन सकरात्मक सहयोग गर्न स्थानीयलाई आग्रह गरे।
बगरखोला जलविद्युत् आयोजनाको हालै विद्युत् खरिद बिक्री सम्झौतासमेत भएको थियो। विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित बगरखोलाको प्रवर्द्धक मोना हाइड्रोपावरले हिउँदमा प्रतियुनिट आठ दशमलव ४० र बर्खामा चार दशमलव ८० प्रतियुनिटका दरले विद्युत् खरिद बिक्री सम्झौता गरेको थियो।
दुई किलोमिटर सात सय मिटर पेनस्टक पाइप लाइनबाट ल्याएको पानीबाट उत्पादन हुने विद्युत् रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन राहुघाट सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रस्ताव गरिएको छ।–रासस