काठमाडौं।नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनको जिम्मा टिआरएस एटलस लोजिपार्क कम्पनीले पाएको छ।
उक्त कम्पनीले पाँच वर्षका लागि आइसिपी सञ्चालनको जिम्मेवारी पाएको हो।
कम्पनीसँग पाँच वर्षमा न्यूनतम २० करोड ८८ लाख रूपैयाँ समितिलाई दिने गरी करार सम्झौता भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ। साथै, प्रक्षेपण गरिएभन्दा बढी गाडी भित्रिए नियमानुसार महशुल बाँडफाँट समेत हुनेछ।
आइसिपी सञ्चालनका लागि समितिले गत असारमा अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आह्वान गरेको थियो। उक्त सूचनाअनुसार एटलस टर्मिनल जेभी, भाटभटेनी, काठमाडौं र ट्रान्स नेपाल फ्रेट सर्भिसेज, विराटनगर बोलपत्र प्रक्रियामा सहभागी भएका थिए।
सहभागी दुई वटा कम्पनीहरूमध्ये मूल्यांकन प्रकृयाबाट छनौट भएको एटलस टर्मिनल जेभिले कानुन बमोजिम दर्ता गरेको संयुक्त लगानीको कम्पनी टिआरएस एटलस लोजिपार्कले आइसिपीको सञ्चालन तथा व्यवस्थापन गर्नेछ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधिन नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ।
भौतिक संरचना निर्माणको कार्य सम्पन्न भई सकेको र हाल पानी ट्यांकी, सिसिटिभि जडान, नेटवर्किङ, फायरफाइटिङ सिस्टम लगायतका कार्यहरू भइरहेको समितिले जानकारी दिएको छ।
निर्माण सम्मपन्न भएपछि समितिले उक्त कम्पनीलाई हस्तान्तरण गर्नेछ।