काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारी वचतपत्र निष्कासन गर्न लागेको छ । राष्ट्र बैंकले पहिलो चरणमा २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा जाने नेपालीले कमाएको विप्रेषण (रेमिट्यान्स) उत्पादनमुलक क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकले वचतपत्र योजना ल्याएको हो । रोजगार वचतपत्र सरकारलाई आन्तरिक ऋण उठाउने वित्तीय औजार हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि सुरु गरेको यो बचतपत्र यस वर्ष पनि निष्काशन गर्ने तयारी गरेको छ । आगामी पुस १ गतेदेखि यो बचतपत्र निष्काशन गर्न लागेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।
राष्ट्र बैंकले गत वर्ष यस्तो बचतपत्र निष्कासन गरेन । यस वर्ष पहिलो चरणमा २५ करोड रुपैया बराबको निष्काशनको तयारी राष्ट्र बैंकले गरेको छ । सरकारले उठाउने आन्तरिक ऋणमध्ये १ अर्ब रुपैयाँ बराबरको ऋण वैदेशिक बचतपत्रबाट उठाउने लक्ष्य राखेको छ ।
यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउँदैछ । सरकारले ल्याउन लागेको यो बचतपत्रको ब्याजदर १० प्रतिशतसम्म हुनेछ । प्रत्येक ६/६ महिनामा ब्याज प्राप्त गर्न सकिनेछ ।
एक दशकमा निष्काशनको ५.२९ प्रतिशत मात्रै बिक्री
वैदेशिक रोजगार बचतपत्रको विगत दश वर्षको बिक्रीको अवस्था दयनिय छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७ देखि यो बचतपत्र निष्काशन सुरु गरेको थियो । यो अवधीदेखि हालसम्मको अवस्था हर्दा वैदेशिक रोजगार बचत पत्रमा वैदेशिक रोजगारीमा जानको आकर्षण देखिदैन ।
राष्ट्र बैंकले हालसम्म ११ अर्ब ८ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । ५८ करोड ६९ लाख रुपैयाँ मात्रै भएको छ । यो कुल बचतपत्रको ५.२९ प्रतिशत मात्रै हो ।
किन बढेन आकर्षण ?
आकर्षक ब्याजदर दिँदा पनि यो बचतपत्रमा आकर्षण बढेको छैन । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बारेमा वैदेशिक रोजगारीमा जानेलाई बुझाउन नसक्दा आकर्षण बढ्न नसकेको हो । बचतपत्रको प्रचारप्रसारका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा एक टोली खाडी मुलुक गएको थियो ।
विदेशमा गएर प्रचारप्रसार गर्दा समेत बचतपत्रप्रति भने वैदेशिक रोजगारीमा जानेको आकर्षण बढेको देखिँदैन । तत्कालिन अवस्थामा राम्रो प्रचारप्रसार गर्न नसकेको तथा वैदेशिक रोजगारीमा जानेहरुले बचतपत्रबारे राम्रोसँग नबुझेका कारण बिक्री हुन नसकेको डेपुटी गभर्नर शिवाकोटीले बताएका थिए ।
कसरी बढाउने आकर्षण ?
‘विगत १० वर्षको अवस्था हेर्दा आकर्षण न्युन छ,आकर्षण बढाउने प्रयास गरिरहेका छौँ ।’ कार्यकारी निर्देशक भट्टले क्यापिटल नेपालसँग भने । राष्ट्र बैंकले रोजगारीमा जाने नेपाली कामदारहरुलाई लक्षित गरी प्रचारप्रसार गर्नेछ ।
यसअघि पनि राष्ट्र बैंकले यस्तो प्रचारप्रसार गरिसकेको छ । यस बचतपत्रको बिक्रीका लागि वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रचारप्रसार गर्ने भन्ने कुरा उठिरहेको थियो । त्यस विषयमा पनि राष्ट्र बैंकले छलफल गरिरहेको छ ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका कामदारहरुले कमाएको पैसालाई हदैसम्म सदुपयोग गर्न पाइयोस् भन्ने उदेश्यले कामदारले जहिले चाहेपनि किन्न सक्ने वातावरणको सृजना गरेको छ ।
राष्ट्र बैंकले वर्षको बाह्रै महिना यो बचतपत्र निष्काशन गर्ने लक्ष्य राखेको कार्यकारी निर्देशक भट्टले बताए । राष्ट्र बैंकले यस अघि पनि यो बचतपत्र बाह्रै महिना बिक्री गर्ने भन्ने घोषणा गरेपनि निष्काशन भने गर्न सकेको थिएन । अब भने बाहै्र महिना निष्काशन गर्ने राष्ट्र बैंकको तयारी छ ।