काठमाडौं। हिमालय एयरलाइन्स नेपालको पहिलो र एक मात्र आइओसा (अपरेसनल सेफ्टी अडिट) मा दर्ता हुने कम्पनी बनेको छ। कम्पनीले नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा लिएको पहलस्वरुप २८ डिसेम्बर २०२३ मा इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा)द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने आइओसा प्रमाणीकरण पाएको हो।
‘हिमालय एयरलाइन्स प्रालि आइओसा कार्यक्रमको प्रावधानअनुसार अपरेसनल सेफ्टी अडिट प्रोग्रामअन्तर्गत आइओसा अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ’, प्रमाणपत्रमा लेखिएको छ।
हिमालय एयरलाइन्सका लागि आइओसा प्रमाणीकरणले यात्रुलाई सुरक्षित र भरपर्दो यात्रा अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यास पालना गरेको पुष्टि हुने कम्पनीले जनाएको छ। नेपालको पहिलो र एकमात्र आइओसा प्रमाणित वायुसेवाको रूपमा हिमालयले हवाई सुरक्षाको प्रतिबद्धता सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।
परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षको मूल्यांकन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए। उनले भने, ‘यो कोसेढुंगाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्छ। हवाई सुरक्षा र अपरेसनल उत्कृष्टताका लागि नयाँ आयाम स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा खुसी छौं।’
हिमालय एयरलाइन्सका लागि आइओसा प्रमाणीकरणले यात्रुलाई सुरक्षित र भरपर्दो यात्रा अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यास पालना गरेको पुष्टि हुने कम्पनीले जनाएको छ।
यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्न कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित नगरेर विश्वव्यापी उड्डयन समुदायमा विश्वसनीय वायुसेवाको रूपमा समेत स्थान दिएको उनको भनाइ छ।
नागरिक उड्डयन प्राधिकरणअन्तर्गत उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयकी उपमहानिर्देशक नविना कर्माचार्यले हिमालय एयरलाइन्सलाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पण तथा प्रतिष्ठित आइओसा प्रमाणपत्र प्राप्त गर्न सफल भएकामा धन्यवाद दिइन्।
आइटा अपरेसनल सेफ्टी अडिट अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा वायुसेवाका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेसन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेसन व्यवस्थापन र नियन्त्रण प्रणाली मूल्यांकन गर्न विकास गरिएको हो।
यो प्रक्रियामा वायु सेवाको नीति, प्रक्रिया र अभ्यासको परीक्षण समावेश हुन्छ। यसमा कागजात मूल्यांकनका साथै साइटको समीक्षासमेत समावेश हुने गर्दछ। परीक्षणको सफलता र सर्त पालनापछि मात्रै वायुसेवालाई आइओसा प्रमाणीकरण दिने गरिएको कम्पनीले जनाएको छ।