काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री विवादित भएपछि सरकारबाट गठित छानबिन तथा अध्ययन उच्चस्तरीय समितिले एक महिने अवधि पूरा गरेको छ।
मंसिर २४ मा गठन भएर काम थालेको समितिको म्याद मंगलबार सकिएपछि पुनः महिना दिन थप्न सरकारलाई सिफारिस गरिएको छानबिन समिति सदस्य रितेशकुमार शाक्यले बताए।
अर्थ मन्त्रालयका सहसचिवसमेत रहेका शाक्यले एनसेल खरिद–बिक्री प्रकरणको छानबिन जारी रहेकाले सरकारसमक्ष १५ माघसम्मको म्याद थप गर्न प्रस्ताव गरिएको जानकारी दिए।
एनसेल सेयर खरिद–बिक्री प्रकरण छानबिन गर्न सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
फणीन्द्र गौतम, अर्थ मन्त्रालयका रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले सदस्यका रुपमा रहेका छन्।
यसअघि २१ मंसिरमा प्रतिनिधिसभाअन्तर्गतको संसद्को सार्वजनिक लेखा समितिले शंकास्पद देखिएको एनसेलको सेयर खरिद–बिक्री कारोबार रोक्न निर्देशन दिएको थियो।
बैठकले एनसेलको सेयर कारोबार वा हक हस्तान्तरणको विषयमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेल कारोबार यथास्थितिमै राख्न सरकारलाई निर्देशन दिएको थियो।
आजियाटा स्वामित्वको एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको नाममा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीले खरिद गरेपछि यसबारे विभिन्न विवाद सिर्जना भएका थिए।
समितिले ३० दिनभित्र कार्यसम्पादन गरिसक्ने गरी स्वतन्त्र अनुसन्धान गराउन सरकारलाई निर्देशन दिएपछि सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
आजियाटा स्वामित्वको एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको नाममा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीले खरिद गरेपछि यसबारे विभिन्न विवाद सिर्जना भएका थिए।
आजियाबाट सतिशलालको स्पेक्ट्रलाइटले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको विषय बाहिरिएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो।