काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बिजुलीको महशुल भुक्तानीका लागि उद्योगहरुलाई किस्तावन्दी सुविधा लिन एक महिनाको समय दिएको छ।
प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी ३० दिनभित्र वितरण केन्द्रमा सम्पर्क राखि किस्तावन्दी सुविधा लिन भनेको छ। सञ्चालक समितिको पुस १६ गते बैंठकले गरेको निर्णय बमोजिम विभिन्न संरचनाहरुबाट बिजुली उपयोग गरेको बक्यौता रकम भुक्तानी गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा भुक्तानी गर्न पाउने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ।
किस्ताबन्दी भुक्तानी सुविधा नलिने उद्योगको काटिएको लाइन नजोड्ने प्राधिकरणले स्पष्टपारेको छ।
प्राधिकरणले बक्यौता महशुल नबुझाएको भन्दै २०८० पुस ६ गतेबाट विद्युत लाइन बिच्छेद गर्न सुरु गरेको थियो।
आम सर्वसाधारण उपभोक्ताले विगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेका बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेको दाबी प्राधिकरणको छ।
कूल २ सय ३९ ग्राहकमध्ये १ सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कूल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। यसमध्ये ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत लाइन काटिएको छ।
सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्ने फैसला गरेको छ।
बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टील प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ।
८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले पहिलो किस्तावापत २७ लाख १० हजार बुझाएपछि लाइन जोडिएको छ।