काठमाडौं। कोटाको साधारण सेयर (आइपिओ) मार्फत एक वर्षमै करिब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षदेखि सुरु भएको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षणले एक वर्षमै २ अर्ब ८३ करोड ५७ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो।
मन्त्रिपरिषद्को २०७९ भदौ २१ मा बसेको बैठकको निर्णयले धितोपत्र तथा निष्कासन नियामवली २०७२ संशोधन गरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपिओमा १० प्रतिशत कोटाको व्यवस्था गरेको थियो।
सरकारले गत आर्थिक वर्ष २०७९/८० को बजेटमै वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्ने घोषणा गरेको थियो।
नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई पाँचौंपटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आइपिओमा आरक्षण दिने व्यवस्था कार्यान्वयन गरेको हो। सरकारले गत आर्थिक वर्ष २०७९/८० को बजेटमै वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्ने घोषणा गरेको थियो।
सरकारले विदेशी मुद्रामा खाता खोल्ने, गैरआवासीय नेपालीलाई नेपालको पुँजीबजार भित्र्याउने र वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने उद्देश्यसहित विदेशमा रहेका नेपालीका लागि आइपिओमा कोटा सुविधा दिन उक्त घोषणा बजेटमा गरेको हो। बजेटमा घोषित कार्यक्रमलाई मूर्तरूप दिन मन्त्रिपरिषद्ले गरेको निर्यणलाई धितोपत्र बोर्डले आफ्नो नियमावली संशोधन गरी २०७९ मंसिर १४ बाट कार्यान्वयनमा ल्याएको हो।
बोर्डको पाँचौंपटक संशोधित धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई १० प्रतिशत आरक्षण छुट्ट्याएर आइपिओ जारी गरेको थियो। कम्पनीले छुट्ट्याएको आरक्षणको आइपिओमा १ लाख बढी आवेदन परेको थियो।
त्यसयता २०८० पुस २२ सम्म ४२ कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपिओमा १० प्रतिशत आरक्षण छुट्ट्याएका छन्।
रेमिट्यान्सलाई औपचारिकतामा प्रोत्साहन गर्न सरकारको पहललाई मूर्तरूप दिन धितोपत्र बोर्डले कार्यान्यवन गर्दा सर्वसाधारणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकालाई छुट्ट्याएको थियो। बोर्डबाट प्राप्त तथ्यांकअनुसार एक वर्षमा ४२ कम्पनीले कुल १४ लाख ९८ हजार ९ सय ६६ कित्ता सेयर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि जारी गरेका छन्। जसमा ३ करोड ९२ लाख २८ हजार ८ सय ८३ आवेदन परेका थिए।
वैदेशिक रोजगारीमा हुने नेपालीले कोटाको आइपिओमै आवेदन दिन रेमिट्यान्स खातामा पैसा पठाउँदा पुस २२ सम्म कुल २ अर्ब ८३ करोड ५७ लाख ३२ हजार ७ सय १९ रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको हो। कोटाको आइपिओमा आवेदन दिनकै लागि धितोपत्र बोर्डबाट सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थामा वैदेशिक रोजगारीमा गएका नेपालीले रेमिट्यान्स खातामा पैसा पठाउँदा एक वर्षमै अर्बौं रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
एक वर्षमा ४२ कम्पनीले कुल १४ लाख ९८ हजार ९ सय ६६ कित्ता सेयर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि जारी गरेका छन्, जसमा ३ करोड ९२ लाख २८ हजार ८ सय ८३ आवेदन बोर्डको तथ्यांक छ।
यस्तो खातामा मौज्दात पैसाबाट दिइएको आइपिओ आवेदनमा आइपिओ नपर्दा वा आवेदनभन्दा कम संख्यामा सेयर पर्दा बाँकी पैसा सम्बन्धित आवेदकको रेमिट्यान्स खातामै रहन्छ। देशको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन र वैदेशिक रोजगारीमा गएका नेपालीको पैसालाई दीर्घकालीन क्षेत्रमा लगानी बढाउन सरकार र धितोपत्र बोर्डको नीतिले प्रत्यक्ष सहयोग गरेको बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमाल बताउँछन्।
‘यो नीतिले श्रमिकहरूले न्याय पाएका छन् भने पुँजीबजारकै माध्यमबाट वैदेशिक रोजगारीमा रहेका नेपालीको २ अर्ब बढी पैसा उत्पादनमूलक क्षेत्रमा लगानी भएको छ,’ हमालले क्यापिटल नेपालसँग भने, ‘यसले सबैभन्दा बढी देशको रेमिट्यान्स बढाउन योगदान दिएको छ भने वैदेशिक रोजगारीमा रहेको श्रमिकको पैसा र परिवारको सामाजिक सुरक्षासमेत भएको छ।’
हुन्डीलगायतका अनौपचारिक क्षेत्रबाट भित्रिने रेमिट्यान्स रोक्न बोर्डले गरेको कामले छोटो समयमै उत्कृष्ट नतिजा दिएको उनको भनाइ छ। भविष्यमा पुँजीबजारका माध्यमबाट देशको रेमिट्यान्समा योगदान पु¥याउन तथा श्रमिकको पैसा दिगो र उत्पादनशील क्षेत्रमा लगानी गरी प्रतिफल सुुरक्षित गराउन मद्दत पुग्ने बाटो सुरु आफ्नो कार्यकालमा भएको हमालले बताए।