काठमाडौं। नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमति लिएका २० वाणिज्य बैंकमध्ये तीनले नियामकको नीति पालना नगरी वित्तीय विवरण बुझाएका छैनन्।
कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकले दिएको समयमा गत आर्थिक वर्षको वित्तीय विवरण नबुझाएका हुन्।
यी बैंकले राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तिम लेखा परीक्षण गराएर विस्तृत प्रतिवेदन राष्ट्र बैंकमा नबुझाउँदा कम्पनी ऐनको व्यवस्थासमेत उल्लंघन हुने प्रष्ट छ।
कम्पनी ऐनअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका पब्लिक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गरिसक्नुपर्छ। कम्पनी ऐनको उक्त निर्देशन पालना गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्नुपर्ने हुन्छ।
राष्ट्र बैंकको व्यवस्थाअनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले कात्तिकभित्र असार मसान्तसम्मको अन्तिम लेखा परीक्षण गराएर वित्तीय विवरण पेस गर्नुपर्छ।
तर, राष्ट्र बैंकले उक्त व्यवस्थामा दुई महिनाको सहुलियत थप गर्दै लेखा परीक्षणसहित वित्तीय विवरण बुझाउनुपर्ने समयसीमा पुस मसान्तसम्म छ।
बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्न राष्ट्र बैंकमा सम्बन्धित आर्थिक वर्षको वित्तीय विवरण पेस गरी पारित गर्नुपर्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक सम्बन्धित सुपरीवेक्षणमा अन्तिम लेखा परीक्षण गराएपछि वित्तीय विवरण पेस गर्नुपर्ने हुन्छ।
पुस मसान्त आउन अब एक साता मात्रै बाँकी छ। पुस मसान्त सम्मुखमा आइपुग्दा पनि साधारणसभा बोलाउने गरी तीन वाणिज्य बैंक वित्तीय विवरण लिएर नआएको राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।
‘राष्ट्र बैंकले निर्देशनअनुसार कात्तिक मसान्तसम्म फाइनल अडिट गरेर राष्ट्र बैंकमा वित्तीय विवरण बुझाउनुपर्ने हो, तर राष्ट्र बैंकले दुई महिना अतिरिक्त समय थप गर्दा पनि तीन वाणिज्य बैंक आएका छैनन्,’ पोखरेलले क्यापिटल नेपालसँग भने, ‘बैंकहरूलाई समयमै वित्तीय विवरण बुझाउन राष्ट्र बैंकले मौखिक पनि भनिरहेको हुन्छ, तर वित्तीय विवरण नबुझाएकै आधारमा भने यो नै कारबाही हुने भने केही व्यवस्था गरिएको छैन।’
कम्पनी ऐनको व्यवस्था पालना गर्दै साधारणसभा सम्पन्न गर्ने गरी राष्ट्र बैंकमा कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेस नगरेका हुन्।
कृषि विकास बैंकले भने आइतबार पुस २२ गते मात्रै राष्ट्र बैंक सम्बन्धित सुपरीवेक्षण विभागमा वित्तीय विवरण पेस गरेको छ। वित्तीय विवरण पेस गरे पनि कृषि विकास बैंकले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गर्न नसक्ने प्रष्ट छ।
कम्पनी ऐनको व्यवस्थाअनुसार पब्लिक कम्पनीको वार्षिक साधारणसभा गर्न कम्तीमा २१ दिनअघि नै सेयरधनीलाई साधारणसभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय उल्लेख गरी सूचना दिनुपर्छ। साथै, यस्तो सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा पनि प्रकाशन गर्नुपर्ने छ।
हालसम्म राष्ट्र बैंकमा वित्तीय विवरण पेस नगरेका इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकसँगै आइतबारमात्रै वित्तीय विवरण पेस गर्ने कृषि विकास बैंकले पनि पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्ने नसक्ने प्रष्ट भएको हो। साथै, कुमारी बैंकले राष्ट्र बैंकबाट वित्तीय विवरण पास गराइ सेयरधनीमा लाभांश वितरण नगर्ने घोषणा गरे पनि हालसम्म साधारणसभाको मिति तय गरेको छैन।
बैंकहरूको अन्तिम लेखा परीक्षण गरिएको वित्तीय विवरण सम्बन्धित सुपरीवेक्षण विभागले निरीक्षण गरी राष्ट्र बैंकको निर्देशनबमोजिम कर्मचारी बोनस, जरिवानावापत रकम, कर्जामा प्रोभिजनलगायत छुट्ट्याउनुपर्ने पैसा छुट्ट्याएको यकिन गरी नछुट्ट्याएको भए छुट्ट्याउन लगाएर प्रारम्भिक स्वीकृत दिन्छ।
स्वीकृति पाएमात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन्। घोषित लाभांशमा पुनः राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि मात्रै बैंकहरूले मिति तय गर्दै साधारणसभा बोलाउँछन्।
बैंकहरूले राष्ट्र बैंकले स्वीकृत गरेको वित्तीय विवरणको क्षमताअनुसार सेयरधनीका लागि लाभांश घोषणा गर्छन् भने केही बैंकले सेयरधनीमा लाभांश विवरण नगरी रिजर्भ कोषमा पैसा राख्छन्।
तर, यसपटक भने केही बैंकको कमजोर वित्तीय विवरण र राष्ट्र बैंकले कर्जामा थप प्रोभिजन गर्न लगाएकै कारण सेयरधनीमा लाभांश वितरण नगर्ने घोषणा गर्दै साधारणसभा बोलाएका छन्। केहीले लाभांश वितरण नै नगरी वार्षिक साभारणसभा सम्पन्न गरिसकेका छन्।
हालसम्म १६ वाणिज्य बैंकले मात्रै राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत गरिसकेका छन्। जसमध्ये १० वाणिज्य बैंकले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् भने ६ ले पुस समाप्त हुनुअघि नै साधारणसभा बोलाएका छन्।
राष्ट्र बैंकबाट वित्तीय विवरण पारित गराएर लक्ष्मी सनराइज र एनएमबी बैंकले पुस २६ लाई साधारणसभा बोलाएका छन् भने हिमालयन, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले पुस २९ गते साधारणसभा बोलाएका छन्।