काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) कार्यसमितिमा रिक्त पदमा पदाधिकारी मनोनयन भएको छ। चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन भएको हो।
विधानबमोजिम कार्यसमितिको दुई वर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पद रिक्त भएको र यसबाट संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन हुन नपाओस् भन्ने विषयलाई गम्भीरतासाथ लिँदै कार्यसमिति बैठकले पदाधिकारी मनोनित गरेको हो।
कार्यसमितिको पुस १९ मा सम्पन्न १३औं बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंक अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्स अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंक अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंक अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत मनोनयन गरेको हो।
विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्यको जिम्मेवारीमा थिए।
बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनित पदाधिकारीको शपथग्रहण गराइ बधाइ तथा शुभकामना व्यक्त गरे। शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलगायत पदाधिकारीले आफूप्रति विश्वास र भरोसा गरी सर्वसम्मत मनोनयन गरेकोमा अध्यक्ष तथा कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्दै सिबिफिनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिलाई अक्षुण्ण राख्दै थप उचाइमा लैजान हरदम सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ।
संशोधित विधानअनुसार सिबिफिनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैंक र ‘क’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ‘ख’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित चार र ‘ग’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट उपाध्यक्ष र सहकोषाध्यक्षसहित तीन पदाधिकारी तथा सदस्य रहनेछन्।