काठमाडौं। भारतले १० हजार मेगावाट विद्युत किन्छु भन्नु नेपालका लागि महत्त्वपूर्ण रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष गणेश कार्कीले बताएका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले ‘पहिला किन्दिए हुन्थ्यो भन्ने भइरहँदा अहिले किन्छु भन्नु महत्त्वपूर्ण रहेको’ बताए।
तर, विद्युत निर्यात गर्ने सम्झौता भयो भनेर सरकार चुप लागेर बस्न नहुने उनले बताए। वन र जग्गा प्राप्तिका समस्या धेरै रहेकाले सरकारले यसमा ध्यान दिनुपर्ने बताए।
‘१० वर्ष भनेको धेरै समय नभएकाले भारतले किन्छ भन्ने विश्वस्त भएपछि आवश्यक सहजीकरण गर्न ढिलाइ गर्नुहुँदैन,’ अध्यक्ष कार्कीले भने, ‘प्रशारण लाइन पनि तयार छैन, त्यसैले यो विषयमा पत्रकारहरूले पनि चासो दिएर समाचार लेख्न आवश्यक छ।’
१० हजार मेगावाट निर्यात सम्झौतामा इप्पान खुसी भएको उनको भनाइ छ। साथै, विद्युत विधेयक २०८० पूर्वाधार समितिमा छलफल भइरहेकाले त्यसलाई लगानीमैत्री बनाउनुपर्छ भन्ने इप्पानको माग रहेको उनले बताए।
त्यस्तै उर्जा उत्पादकहरूले १३ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता हटाउन आवश्यक रहेको पनि इप्पानले जनाएको छ। १० हजार मेगावाट विद्युत निर्यात गर्न सरकारले मात्रै नसक्ने भएकाले निजी क्षेत्र पनि तयार रहेको अध्यक्ष कार्कीले बताए।
तर, निजी क्षेत्रलाई सहभागी गराउने नीतिनियममा पनि सहजीकरण गर्नुपर्ने उनले बताए।