काठमाडौं। प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः सञ्चित बज्राचार्य नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि सिइओको जिम्मेवारी पुनः सुम्पिएको हो।
बज्राचार्यले यसअघि पनि दुई कार्यकाल प्रभु इन्स्योरेन्स सिइओ जिम्मेवारी सम्हालिसकेका छन्। बिमा ऐन लागु भएपछि भने बज्राचार्यको पहिलो कार्यकाल हुनेछ।
उनलाई बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार सिइओ बनाउन कम्पनी सञ्चालक समतििलाई स्वीकृति दिएको थियो। सोहीअनुसार कम्पनी सञ्चालक समितिले २०८० माघ १ बाट लागु हुने गरी चार वर्षका लागि बज्राचार्यलाई सिइओमा नियुक्त गरेको हो।
यसअघिका कार्यकालमा प्रभु इन्स्योरेन्सलाई उचामा पुर्याउन अहम भूमिका खेलेका बज्राचार्यले अबको कार्यकालमा कम्पनीलाई बिमा क्षेत्रकै अब्बल कम्पनीका रूपमा स्थापना गराउन प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्।
‘कम्पनीमा यो तेस्रो कार्यकाल भए पनि बिमा ऐन लागु भएपछि पहिलो कार्यकाल हो,’ बज्राचार्यले क्यापिटल नेपालसँग भने, ‘यो कार्यकालमा कम्पनीलाई बिमा क्षेत्रकै अब्बल कम्पनीका रूपमा स्थापना गराउने प्रयत्न हुनेछ।’
बज्राचार्यसँग बिमा क्षेत्रको करिब दुई दशक साथै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा गरी ३० वर्षभन्दा बढी काम गरेको अनुभव छ।
आर्थिक तथा बिमा क्षेत्रका विभिन्न संघसंस्थामा कुशल व्यवस्थापकको जिम्मेवारी निभाइसकेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिए उत्तीर्ण गरेका छन्।