काठमाडौं। विद्युत माग्दै लाइन काटिएका भैरहवाको उद्योगका मजदुरहरु आन्दोलनमा उत्रिएका छन्।
फर्जि विलको भुक्तानी नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका हुन्। उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आइतबार विद्युत प्राधिकरणको कार्यालय अगाडि दुई घण्टा धर्ना दिने बताए। श्रेष्ठले करिब ४० वटा उद्योगका प्रतिनिधि धर्नामा सहभागी भएको बताए।
‘बिलिङ गरिएका २३ वटा उद्योगहरु बन्द भएका छन्। थप १७ वटा आज स्वतःस्फूर्त बन्द हुने क्रममा छन्,’ श्रेष्ठले भने, ‘हामी करिब ४० उद्योगका प्रतिनिधिहरु धर्नामा छौं।’
पञ्चकन्या, समृद्धि स्टील, श्री स्टिल लगायतका उद्योगहरु बन्द भएका छन्। धर्नामा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका प्रतिनिधि लगायत सहभागी रहेको श्रेष्ठले बताए।
उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘नियमन आयोगको नियम लागु गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।