काठमाडौं। नेपाल ह्याचरी उद्योग संघको अध्यक्षमा लक्ष्मीदास मानन्धर चुनिएका छन्। ऋषिराम पौडेलको कार्यकाल सकिएसँगै मानन्धर दुई वर्षका लागि अध्यक्ष भएका हुन्।
पुस २० गते भएको १७ औं वार्षिक साधारण सभाबाट मानन्धरसहित समिति छानिएको हो। बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, प्रथम उपाध्यक्षमा बलराम किसी, द्वितिय उपाध्यक्ष बलराम सञ्जेल, महासचिव ज्ञानबहादुर विश्वराल, कोषाध्यक्षमा नवराज पौडल, सचिवमा विवेक भट्ट चुनिएका हुन्।
देशभित्र विस्तारै ह्याचरी व्यवसायी पलायन भइरहेका बेला नयाँ नेतृत्व आएको छ। नेतृत्वमाथि व्यवसायीलाई जोगाउनुपर्ने चुनौति छ। कुनै समय देशभित्र ३५६ वटा ह्याचरी उद्योग थिए। अहिले जम्मा १२१ वटा मात्रै ह्याचरी उद्योग छन्।
कोभिड अघिसम्म ३५६ वटा ह्याचरी रहेकामा अहिले १२१ मा झरेको अवस्था छ। तीमध्ये पनि ८० हाराहारीले मात्रै चल्ला उत्पादन गर्ने गरेका छन्।
निरन्तरको घाटाका कारण धेरै ह्याचरी बन्द भएका हुन्। सातामा लेयर्स चल्ला तीन लाख उत्पादन हुने गरेकामा अहिले यसको उत्पादन एक लाख २५ हजार र ब्वायलर चल्ला सातामा ४५ लाख उत्पादन हुने गरेकामा अहिले २० लाख मात्रै उत्पादन हुँदै आएको छ।
भारतीय खुल्ला सिमानाबाट अवैध रुपमा आउने पोल्ट्रिजन्य पदार्थ, बढ्दो बैंकको ब्याजदर, नागरिकमा घटेको क्रयशक्ति, कच्चापदार्थको लगाइएको भन्सार लगायतका कारण यो व्यवसाय टिक्न मुस्किल भएको हो।
यससँगै पोल्ट्रिजन्य उत्पादनको मूल्य नबढ्नु र पोल्ट्रीका लागि आवश्यक दाना, औषधि, कच्चापदार्थको मूल्य बढ्नु र जनशक्तिको पारिश्रमिक थपिँदै जानुले सन्तुलन कायम गर्न नसकेर व्यवसाय धराशयी हुने अवस्थामा पुगेको हो।
सरकारको स्पष्ट नीतिको अभावमा आत्मनिर्भर व्यवसाय पलायन हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। यसबाट प्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रसमेत प्रभावित हुने देखिन्छ।