काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थनपछि निर्विरोध अध्यक्ष बनेका हुन्।
निर्वाचित अध्यक्ष चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन्। अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी, सिजी होल्डिङ्गसका कार्यकारी निर्देशक हुन्। सिजी होल्डिङ्गसअन्तर्गत सुजुकी चारपांग्रे सवारी चौधरी स्वयंले नेतृत्व गरेको कम्पनी हो भने गल्फ लुब्रिकेन्टको वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयलका कार्यकारी निर्देशक पनि हुन्।
नवनिर्वाचित अध्यक्ष चौधरीले भने,‘सम्पूर्ण अटो क्षेत्र अहिले निराशाजनक अवस्थामा छ। सबै मिलेर कसरी यसलाई माथि ल्याउने भन्ने सम्बन्धमा मेरो पहिलो प्राथमिकता हुनेछ। नेपालभारका सम्पूर्ण व्यवसायीको आवाजलाई सशक्त बनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्नेछौं। व्यवसायीका सानाभन्दा साना विषयलाई ध्यानमा राख्नेछु।’
कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेदवारी दर्ता भएकाले सबै सदस्य निर्विरोध भएका थिए। नाडाको विधानअनुसार सदस्यबाटै पदाधिकारी चयन हुनेछन्।
सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनील रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध भएका छन्।
यस्तै, संस्थागततर्फ मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका सञ्जयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनका कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनका भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनका पुष्करराज ओझा निर्विरोध भएका थिए।